१३ बैशाख २०८१, बिहीबार
Follow Us

कसले तिस्यायो सांसद निरु पालको कन्चटमा पेस्तोल

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार १३:०८

काठमाडौं । संसदीय सुनवाइ समितिका एकजना सदस्यलाई कञ्चटमा पेस्तोल राखेर धम्काएको तथ्य बाहिरिएको छ । मंगलबार साँझ बानेश्वस्थित आफ्नै निवासबाट दूध किन्न सडकमा निस्किएका बेला अज्ञात व्यक्तिहरुले आफूलाई कञ्चटमा पेस्तोल ताकेर धम्की दिएको सत्तारुढ दल नेकपाकी सांसद निरु पालले बताएकी छिन् ।

‘प्रधानन्यायाधीशमा अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै अज्ञात धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् ।

दीपकराज जोशीको संसदीय सनुवाइलाई प्रभावित पार्नका लागि उनलाई धम्काइएको बुझिएको छ । समितिका सदस्यलाई हतियारधारीहरूले निशाना बनाउन खोजेपछि सुरक्षा समितिले सदस्यहरूलाई पिएसओको व्यवस्था गरेको छ । कतिपयले पिएसओ लिएका छन् भने कतिपयले लिएका छैनन् ।

तर, प्रहरीले भने संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट नभएको दाबी गरेको छ । महानगरीय प्रहरी परिसर रानीपोखरीका एसएसपी पूर्ण जोशीले सनुवाइ समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट नभएको बताएका छन् ।

यसैबीच मंगलबार संसदीय सुनुवाई समितिका अन्य सदस्यलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको भन्दै सांसदहरुको एक समूहले सभामुखलाई भेटेर सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।