१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजेश राणालाई पुनर्वहाली गर्न अदालतको पत्र एनआरएन कार्यालयमा

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७५, बिहीबार ०७:४२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय कार्यालय निर्देशक पदमा राजेश राणा पुनर्वहाली हुने भएका छन् । एनआरएनमा भवन भट्ट अध्यक्ष भएर आएपछि राणालाई गत जनवरीमा जिम्मेवारी मुक्त गरिएको थियो । आफूलाई बिना कारण हटाइएको भन्दै राणा अदालत गएका थिए ।

राणालाई श्रम अदालतले गत असार ८ गते पुनर्वहाली गर्नु भनेर फैसला सुनाएको थियो । फैसलासँगै अदालतले पुनर्वहाली गर्न एनआरएन कार्यालयमा पत्र लेख्यो । न्यायधीश देवेन्द्रराज ढकालले फैसला सुनाएका हुन् । उक्त फैसलाको पूर्णपाठ गत शुक्रबार श्रम अदालतले एनआरएनए कार्यालयमा पठाएको थियो ।

राणाका पक्षबाट कानुन व्यवसायी रमेश बडालले बहस गरेका थिए । बिना कारण जिम्मेवारी मुक्त गरिएको थियो, अदालतले न्याय दिलाइदिएको प्रतिक्रिया राणाको छ । ‘म कर्मचारी हुँ, जोसुकै पदाधिकारी आए पनि मलाई काम गर्न अप्ठ्यारो लाग्दैन’, उनले भने, ‘अध्यक्षहरु आउँछन्–जान्छन्, उहाँहरुको नीति कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको हो । नयाँ अध्यक्ष आउँनसाथ कर्मचारी हटाउन थाल्ने हो भने संस्थाको इमेज राम्रो बन्दैन । सचिवलाय स्थायी रुपमा कर्मचारीले सञ्चालन गर्छन् ।’

तपाईंलाई पुनर्वहाली गरेन भने के हुन्छ भन्ने नेपाल ब्रिटेन डट कमको जिज्ञासामा राणाले भने, ‘उहाँहरुसँग दुईवटा विकल्प छ । पहिलो विकल्प भनेको मेरो पुनर्वहाली नै हो । दोस्रो, फैसला चित्त नबुझे उहाँहरु सर्वोच्च अदालत जान सक्नुहुन्छ ।’

श्रम अदालतको पत्र एनआरएन कार्यालयमा पुगेको तर गुपचुप राखेको बुझिएको छ ।