१२ बैशाख २०८१, बुधबार
Follow Us

मृतकको परिवारलाई जापानबाट आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार ०५:३६

टोकियो । अध्ययनका लागि दुईवर्षअघि जापान आएर उपचारका क्रममा तीनसाताअघि मृत्यु भएका सिन्धुली लाम्पनडाँडा–५ का २२ वर्षीय रमेश तामाङको परिवारलाई तामाङ समाज जापानले २७ लाख २० हजार जापानीयेन सहयोग प्रदान गरेको छ ।

मृतक रमेशको नाममा उठेको सो रकम सहयोग शनिबार नेपाल पठाएर परिवारलाई हस्तान्तरण गरिएको तामाङ समाज जापानका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिनुभयो ।

सहयोग जुटाउन सुरु गरिएको अभियानअन्तर्गत सङ्कलन भएको ३६ लाख ३७ हजार ८ सय ११ जापानीयेनमध्ये उपचार र शव पठाउन लागेको नौ लाख १५ हजार ७८८ कटाएर २७ लाख २० हजार २३ जापानीयेन सहयोग उपलब्ध गराइएको हो ।

गत साउन ३१ गते टोकियो महानगरपालिकाअन्तर्गत इकेबुकुरोको नागासिओ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तामाङको शव भदौ ८ गते नेपाल पठाइएको थियो । जापानमा आफन्त कोही नभएपछि तामाङ समाजको पहलमा मृतक तामाङको उपचार र शव नेपाल पठाउन लाग्ने खर्च जुटाउन सहयोग अभियान चलाइएको थियो ।

खानै नखाई शरीरले थेग्न नसक्ने गरी निरन्तर काममा खटिएका कारण उच्च रक्तचाप भई उनको मृत्यु भएको इकेबुकुरोको नागासिओ अस्पतालले बताएको थियो । यसैबीच जापानस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले अध्ययनमा आउने जोसुकैले पनि खानपिनमा सावधानी अपनाउन र निरन्तर काममा जानुअघि स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्नुभएको छ ।