१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राज्यमन्त्री शर्मालाई पक्राउ गर्न अदालतको आदेश

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७५, शुक्रबार ०४:४०

जनकपुरधाम । उच्च अदालत जनकपुरले प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न आदेश दिएको छ । राजपाबाट प्रदेश २ सरकारमा राज्यमन्त्री बनेका उनी असई थमन विकको हत्याका फरार अभियुक्त हुन् । प्रहरीको फरार सूचीमा रहेका बेला प्रदेशसभामा निर्वाचित भएका उनलाई यसै महिना राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

अर्का अभियुक्त शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् । फरार भनिएका प्रतिवादीहरू सार्वजनिक पद धारण गरेर खुलेआम हिँड्दा पनि हत्याका अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै उच्च अदालत जनकपुरले बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले सो आदेश दिएको हो । महोत्तरी जिल्ला अदालतको आदेशबाट केही प्रतिवादी जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी प्रतिवादीलाई प्रहरीले पक्राउ नगरेको भन्दै असई विककी श्रीमती शोभा गहतराजले २८ चैत २०७२ मा अदालतमा मुद्धा हालेकी थिइन् ।

यो मुद्दामा जलेश्वर २ का मिश्रीलाल माझी, ३ का संजयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन् । तर, अरु अभियुक्त पक्राउ परेका छैनन् । फरार प्रतिवादीमध्ये अभिराम शर्मा प्रदेश सांसद हुँदै राज्यमन्त्री बनेका छन् भने कौशलकुमार यादव प्रदेशसभा सदस्य र शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् । महोत्तरी प्रहरीका अनुसार २८ जना हालसम्म फरार छन् ।

मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन घाइते भएका थिए । उपचारका लागि जनकपुरमा ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर उनको हत्या भएको थियो ।