१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिनिधिसभा बैठक स्थगित

sarusaru
१८ श्रावण २०७५, शुक्रबार १०:३६

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिनुभयो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

बैठकमा गृहमन्त्री थापाले प्रस्तुत गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।
काँग्रेसका आग्रहमा स्थगन
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहबमोजिम प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको हो । काँग्रेस संसदीय दलको बैठक बसिरहेकाले उहाँहरुकै आग्रहानुसार बैठक स्थगन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिपक्षी दल काँग्रेसले आफ्नो संसदीय दलको बैठक लामो समय जारी रहने भएकाले सभामुखसमक्ष आजका लागि बैठक स्थगन गरिदिनुप¥यो भनी आग्रह गरेको कुरा सभामुखले हामीहरुलाई जानकारी दिनुभयो ।”

प्रतिपक्षको आग्रहलाई स्वीकार गरेर बैठक स्थगन गरिएको उहाँको भनाइ छ । बैठक चलाउने वा नचलाउने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराले सत्तरुढ नेकपाका नेता नेम्वाङलगायतसँग संघीय संसद् भवनमै छलफल गर्नुभएको थियो ।

छलफलपछि सभामुख महराले बैठक स्थगन गर्ने निर्णय लिनुभएको थियो । सोलगत्तै संघीय संसद् सचिवालयका महासचिव भट्टराईले सूचनामार्फत बैठक स्थगन भएको जानकारी दिनुभएको थियो । बिहीबारको बैठकमा भने सभामुख महराले आफूहरुलाई बोल्न नदिएको भन्दै काँग्रेसका सांसदले बैठक बहिष्कार गरेका थिए ।
रासस