१३ बैशाख २०८१, बिहीबार
Follow Us

कर्मचारीको भत्ता रकम बृद्धि गर्ने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७५, शनिबार ०५:२४

काठमाडौं । सरकारले कर्मचारीको भत्ता, पोशाक खर्च तथा जीवन बीमांक रकम वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले उल्लेख गरेअनुरुप सरकारले कर्मचारीको रकम वृद्धि गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको सुविधामा बढोत्तरी गरेसँगै कर्मचारीको बार्षिक पोशाक भत्ता १० हजार रुपैयाँ रहनेछ । अहिले पोशाक भत्ता बापत ७ हजार ५ सय रुपैयाँ रहँदै आएको थियो । मन्त्रिपरिषदले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरुको सरुवाको निर्णय पनि गरेको छ । जसअनुसार कार्यविभागमा अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई कार्यविभाग तथा सीमा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ । अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

यस्तै बैठकले खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता २२ दशमलव ७ मिलियिन अमेरिकी डलर स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । उखुको न्यूनतम समर्थन मूल्यमा परिवर्तन नगरेसम्मका लागि नेपाल सरकारले जेठ १५ देखि लागू हुने गरी उखु किसानलाई प्रतिक्विन्टल रु ६० अनुदान दिने निर्णय भएको सञ्चारमन्त्री बाँसकोटाले जानकारी दिनुभयो । मन्त्रिपरिषदले समाज कल्याण परिषदमा भएको अनियमितता छानवीन गर्न जाँचबुझ ऐन बमोजिम छानवीन आयोग गठन गर्ने निर्णय समेत भएको छ ।