१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पहिरोका कारण सल्यानका सात सय घर जोखिममा

sarusaru
२१ श्रावण २०७५, सोमबार ०४:३०

सल्यान । लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन्।

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ।

जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन्। ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिए।

जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उनको भनाइ छ। “चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको जोखिम अन्य जिल्लाको तुलनामा यस जिल्लामा बढी छ”, उनले भनने । अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि करोडौँको भौतिक क्षति भएको उनको भनाइ छ।

कपुरकोट र खर्सुवास उच्च जोखिममा

पहिरोका कारण कपुरकोट बजारसमेत उच्च जोखिममा परेको छ। वर्षात्का कारण सो क्षेत्रको राप्ती लोकमार्गको झण्डै १०० मिटर भाग भासिएको छ। २०६९ सालमा सोही स्थानमा रहेको कालिका माविका तीन वटा भवन भासिएर भत्किँदा रु एक करोड बराबरको क्षति भएको थियो।

आज परेको अबिरल वर्षाले नयाँ ठाउँमा सारेको विद्यालय भवनसमेत पहिरोको जोखिममा परेको छ। वर्षाले विद्यालय प्राङ्गण निर्माण गर्न राखिएको १७५ वटा जाली बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रवीर कवरले जानकारी दिए।

यस्तै जिल्लामा जोखिममा रहेका बस्तीमध्ये छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ पहिरोको उच्च जोखिममा परेको छ। प्रत्येक वर्ष वर्षायाममा जस्तै यस वर्ष पनि यहाँ पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेको खर्सुबास गाउँवासी टीकाराम पुनले बताए। “पानी पर्न थालेपछि पहिराको डरले रातभर जाग्राम बस्ने गरेका छौँ”, उनले भने।

पहिरोको उच्च जोखिममा भए पनि वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेरै गाउँमा बस्न बाध्य भएको पुनको भनाइ छ। विसं २०६९ मा गाउँको बीच भागबाट ठूलो पहिरो गएपछि वर्षेनी पहिरो खस्ने क्रम रोकिएको छैन।
रासस