८ बैशाख २०८१, शनिबार
Follow Us

देशका अधिकांश स्थानमा वर्षा, दिनभर देशभर पानी पर्ने

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७५, सोमबार ०६:३६

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा आज विहानैदेखि बर्षा भैरहेको छ । आज देशभर मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा सक्रिय भएकाले आज दिनभरजसो देशभर पानी पर्ने संभावना रहेको महाशाखाको भनाई छ ।

पूर्व, मध्य र पश्चिमका केही ठाउँमा भारी बर्षासमेत हुन सक्ने भन्दै सचेत रहन महाशाखाले आग्रह समेत गरेको छ । आज राति पनि मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी बर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान शाखाले पनि बाढीको जोखिम रहेको भक्तपुरको नदी आसपासका बासिन्दा तथा अन्य जोखिम युक्त क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

यसैबीच, अबिरल बर्षासँगै चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–नौविसे सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं आउँदै गरेका र काठमाडौंबाट बाहिर जाँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । ट्राफिक प्रहरीले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहसमेत गरेको छ । त्यस्तै, पहिरोकै कारण दक्षिणकाली–कुलेखानी–सिस्नेरी र फाखेल–कुलेखानी सडकखण्ड पनि अवरुद्ध भएको छ ।