७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेले सातै प्रदेशमा कमिटी गठन

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार १४:३७

काठमाडौं । नेकपा (एमाले) स्थायी समितिको बैठकले पार्टीको सातवटै प्रदेशमा कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज केन्द्रीय कार्यालय, धुम्बराहीमा सम्पन्न बैठकले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने काम गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टीले प्रदेश नं १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १०१ कमिटी निर्माण गरेको छ । प्रदेश नं २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१ कमिटी गठन गरेको छ ।

त्यस्तै, प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १११, प्रदेश नं ४ मा किरण गुरुङ संयोजक र गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९, प्रदेश नं ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक रहेको ८० रहेको छ ।

प्रदेश नं ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल कँडेल सहसंयोजक रहेको ५२ र प्रदेश नं ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय प्रदेश सङ्गठन कमिटी गठन गरेको हो ।

यसअघि स्थायी समितिबाट निर्धारण भएका मापदण्डका आधारमा केन्द्रीय सङ्गठन विभागका तर्फबाट गृहकार्य गरी प्रस्तुत गरेका नामलाई बैठकले अनुमोदन गरेको हो ।

प्रदेश कमिटीमा स्थायी कमिटीबाट तोकिएका प्रदेश संयोजक र सहसंयोजक, अञ्चल इन्चार्ज तथा सह–इन्चार्ज, केन्द्रबाट तोकिएका जिल्ला इन्चार्ज र सह–इन्चार्ज, निवर्तमान अञ्चल सचिव, जिल्ला कमिटीका अध्यक्ष, जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान जिल्ला अध्यक्ष केन्द्रीय कमिटीको विशेष निर्णयबाट मनोनित हुनेछ ।

त्यस्तै, निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य, जिल्ला कमिटीको सिफारिसमा केन्द्रीय कमिटीद्वारा मनोनित राष्ट्रिय प्रतिनिधि परिषद्का महिला सदस्य र केन्द्रीय कमिटीको विशेष निर्णयद्वारा मनोनित राष्ट्रिय प्रतिनिधि परिषद्का दलित सदस्य हुनुहुन्छ ।

वैठकले विभिन्न पार्टीबाट नेकपा (एमाले) मा समाहित भएकामध्ये गोविन्दविक्रम शाह (जाजरकोट), रमेश श्रेष्ठ (सुनसरी) र मोती दुगड (मोरङ) लाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनित गरेको छ ।