७ बैशाख २०८१, शुक्रबार
Follow Us

चार पदकसहित जुडो टोली स्वदेश फिर्ता

sarusaru
२२ श्रावण २०७५, मंगलवार ०२:४७

काठमाडौं – थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको थियो । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले चार खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका दुई तथा युएई र जापानका खेलाडीलाई हराए । ११ खेलाडी सहभागी रहेका महिला ५७ केजीमुनिको प्रतियोगितामा मनिताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई पराजित गरिन् ।

महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाओसकी खेलाडीलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसँग पराजित भइन् । त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । गत संस्करणमा नेपालले उक्त प्रतियोगितामा दुई कास्य जितेको थियो ।
रासस