१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युरोप क्षेत्रीय बैठक बिरुद्ध किर्ते हस्ताक्षर

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७५, मंगलवार १३:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न ११ औं युरोप क्षेत्रीय बैठकको विरोध गर्दै वक्तव्य निकाल्ने समूहले अधिकांस व्यक्तिको हस्ताक्षर आफु खुशीले राखेको खुलासा भएको छ ।
गैरआवासीय नेपाली संघ लक्जेम्वर्गका अध्यक्ष नरायण गुरुङले ११ औ युरोप क्षेत्रीय सम्मेलनलाई लिएर बिभिन्न मिडिया मार्फत आफ्नो नाम जोडिएको आपत्ति जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै युरोप क्षेत्रीय बैठकका सम्वन्धमा एनआरएन केही केन्द्रीय पदाधिकारीद्धारा जारी विज्ञप्तिमा लक्जेम्वर्ग एनआरएनको कुनै पनि संलग्नता नभएको बताएका छन ।

उनले ब्यक्तिको धारण नै नबुझि आएको बिज्ञप्ति अपराधीकरण भएको बताएका छन् । आफु कुनै पनि पार्टीको ब्यक्ति नभएकाले एनआरएनलाई राजनीतिकरण गरिएकोमा चिन्ता ब्यक्त गरे ।
गुरुङले युरोप सम्मेलनको बिषयलाई लिएर एनआरएन लक्जेम्वर्गका पनि नाम आफुखशी राखि बिज्ञप्ति निकाल्ने कार्यलाई आपराधीकरणको संज्ञा दिएका छन् ।

उनले भने,‘ भेला सकिएलगत्तै बिभिन्न मेडिया र बिज्ञप्तीमार्फत असन्तुस्टि, गुनासा र बिरोधका नाममा मेरो नामपनि मुछिएको देख्दा मलाई असाध्यै दुख लागेको छ । यि बिवाद र बिज्ञप्तीमा मेरो कहिँकतै संलग्नता र स्विकारोक्ति छैन । म यि विषयहरुमा अनबिज्ञ छु ।,’

उनले भनेका छन,‘ म नितान्त्र स्वतन्त्र ब्यक्ति हुँ । मेरो कुनैपनि राजनितिक दल, समूह र बिचारसित निकटता, दूरता र बैरभाव छैन । म समग्रमा नेपाल, नेपाली र आफ्नो कर्मथलोको भलोका लागि काम गर्न रुचाउँछु । त्यसैले कुनैपनि तरिकाले म गाली गलौज, चर्को आलोच्ना र बैचारिक समर्थन वा बिमर्थनबाट म अलग रहन्छु, रहेको छु । युरोपेली भेला आयोजनाका क्रममा आयोजक देश एन आर एन लक्जमवर्गको अध्यक्षका हिसाबले म यहाँ पाल्नुभएका र यस भेलामा चासो राख्नुहुने सबैप्रति अनुग्रही छु । हामीले यो भेला आयोजना गर्दा केहि गल्ति कमजोरी गर्‍यौंहोला । पाहुनाहरुबाट केहि कमजोरी भए होलान् । ति सबैको जिम्मेवारी लिँदै म क्षमाप्रार्थी छु । मेरालागि यहाँहरु सबै सम्मानित, आदरणिय र प्रशंसक हुनुहुन्छ ।,

पाहुनाहरुबाट जति गल्ति कमजोरी भएपनि हाम्रो कर्मथलो देशमा कार्यक्रम आयोजना भएकाले मेरा मित्र, सहपाठी र मैले पाहुनाहरुलाई आदर्, सम्मान् र सेवा गर्नुपर्छ भन्ने भावनाले काम गर्‍यौं, अबपनि गर्ने छौं । पाहुनाहरुमाथि औंलो उठाउने मेरो बानी छैन । त्यसैले युरोपेली भेलाका संवन्धमा प्रेस बिज्ञप्ती जारि गर्दै मसित सल्लाहसमेत नगरि मेरो नाममा आएका भ्रमित, कलोपकल्पित न्युजहरुमा मेरो संलग्नता, समर्थन् र सहमति छैन । यसमा मेरो आपत्ती र म दुखि छु । मेरा मनका भावनाहरुलाई बुझेर सम्मानित गरिदिनुहुने छ भन्ने बिनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । र मेरो नामसमेत जोडिएर आएका असहमतिपूर्ण न्युजले पर्न गएको असरप्रतिपनि म क्षमा चाहन्छु ।’

यसअघि गैरआवासीय नेपाली संघका युरोपस्थित केही एनसीसीका अध्यक्ष सहित केन्द्रीय उपाध्यक्ष कुल आचार्यले लगायत १७ जनाले संघको युरोप बैठकको विरोध गरेका थिए । गैरआवासीय नेपाली संघको एक पदाधिकारीका अनुसार सो विज्ञप्तिमा उल्लेखित नाम अधिकांस विना सहमति राखिएको हो ।

विज्ञप्तिमा संघको क्षेत्रीय बैठकमा अनुपस्थितहरुको समेत नाम राखिएको छ । गैरआवासीय नेपाली संघ युरोप उपसंयोजक एकराज गिरीले संघको आगामी बैठकहरुमा सबैलाई समेटेर जान सुधारका काम अगाडी बढ्नु पर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा आफ्नो सहमति भए पनि विज्ञप्तिको पूर्ण विवरणमा भने आफ्नो असहमति रहेको वताए ।

क्षेत्रीय बैठकमा आफुलाई प्रयाप्त आसन ग्रहण गर्न नदिएको, नाम प्लेट नै सिटबाट हटाइएको, भाषण गर्न नपाएको, आसन ग्रहणमा नाम पछि वोलाए, पुरुष युवाहरु महिलाहरुको कार्यक्रममा सहभागी हुन नपाएको, उद्धघोषक पुरानै राखेको, ५ मिनेट भन्दा बढी बोल्न नपाएको, कार्यक्रम संचालकले नाम उच्चारण गर्दा अपमानित भएको, बैठकले निर्णय गर्ने गरेको तर घोषणपत्र जारी नगरेको, कुनै व्यक्तिले ५ पटक सम्म भाषण गरेको, धन्यवाद नदिएको, सभापतित्व ग्रहण गर्न नदिएको लगायतका विषयमा असमति राख्दैं जारी विज्ञप्तिको पूर्णपाठ ।

श्रीमान अध्यक्षज्यु, संरक्षकज्युहरु, सल्लाहकारज्युहरु, पदाधिकारीज्युहरु, आईसीसी सदस्यज्युहरु र एनसीसी अध्यक्षज्युहरु,
सबैलाई नमस्कार

गैर आवासीय नेपाली संघले संसार भरी छरिएर रहेका नेपालीहरुलाई संगठित गरी स्वदेश तथा विदेशमा सबैको हक हित र अधिकारहरुको निम्ति आवाजको अभियानमा निरन्तर लागी रहेको छ। सुखी र समृद्ध नेपालको निर्माण गर्ने लक्ष्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघले १५ औं बसन्त पार गरी सकेको छ । गैर आवासीय नेपाली संघको उद्गम स्थान लन्डन, २००३ मा स्थापना भएको संघले युरोप क्षेत्रमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुको हक हित अधिकारहरुको पक्षपोषण सहित सामुहिक भेटघाट, शुभकामना आदानप्रदान, सूचना, सिप र कलासाहित्यको अभिवृद्धि गर्न पाउने सुवर्ण अवसरको रुपमा उपयोग गर्ने हेतुले गैर आवासीय नेपाली संघले प्रत्येक बर्ष युरोपमा कार्यरत २७ एनसीसीहरुको साझा कार्यक्रमहरुको रुपमा क्रमिक कुनै एक राष्ट्रमा बैठक गर्दै आएका छौं । गैर आवासीय नेपाली संघ युरोपको गत २९ र ३० जुलाई २०१८ मा लक्जम्बर्गमा १४ बुदे घोषणा पत्र सहित ११ औं युरोप बैठक तथा ९ औं महिला बैठक सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ लक्जम्बर्गले आयोजना गरेको ११ औं युरोप बैठक तथा ९ औं महिला बैठक धेरै राम्रो प्रबन्ध मिलाएको थियो। युरोपको सानो देश थोरै नेपाली बसोबास रहेको गैर आवासीय नेपालीहरुले विभिन्न देशहरुबाट आएका गैर आवासीय नेपालीहरुलाई गरेको धेरै राम्रो सत्कार र ठुलो सम्मान अथिति देवभवले सधै स्मरण गर्ने छन् । गैर आवासीय नेपाली संघ लक्जम्बर्गको सिधा सम्पर्क राज्य सत्ता, स्थानीय तह र नेताहरु र सामाजिक अभिन्यता सम्म सिधा राम्रो सम्पर्क रहेको प्रधानमन्त्रि ज्युको शुभकामना सन्देश, मन्त्रीज्युको सहभागिता र शहरको मेयरको उपस्थितिले एनआरएनएको उचाई बढेको महशुस भएको छ । आयोजक राष्ट्रको धेरै राम्रो ब्यबस्थापनको साथ सहयोग पाएको ११ औं युरोप बैठक तथा ९ औं महिला बैठक आफैंमा अब्यबस्थित, भद्रगोल भएर सम्पन्न भएको छ । त्यसैले युरोपका विभिन्न एनसिसीहरूले आगामी बर्ष आयोजना गरिने १२ औं युरोप बैठक र १० औं महिला बैठक ब्यबस्थित बनाउन आइसीसीको ध्यान आकर्षण गर्दै ११ औं युरोप बैठक र ९ औं महिला बैठकमा भएका कमी कमजोरीहरुको निराकरण गर्न यो सामुहिक ज्ञापन पत्र पेश गरेका छौं ।

१. प्रस्तुत कार्यक्रमको रुपरेखा बनाउंदा समेत एकरुपता नआएको प्रस्तुत कार्यक्रमको तयारीको लागी युरोप क्षेत्रका एनसीसी अध्यक्ष,आईसीसी सदस्य, अफिस ब्यरिअर र पदाधिकारहरुसित बिस्तृत छलफल हुनु पर्ने थियो। छलफलको परिणाम अनुसार सहमतिको आधारमा प्रस्तुत कार्यक्रमको रुपरेखा तयार गर्नु पर्ने सर्वपरी प्रचलन र गैर आवासीय नेपाली संघको परम्परा रहदै आएकोमा ११ औं युरोप बैठक तथा ९ औं महिला बैठक त्यसो हुन नसक्नु दुर्भाग्य भयो। के कति कारणले यस्तो हुन सकेन यस विषयको बारेमा पुनः छलफलमा प्रवेश गरी दरार भएका विचारहरुलाई एकै ठाउमा ल्याउने उपायको खोजी निकाल्ने ।

२. गैर आवासीय नेपाली संघ गैर राजनितिक संस्था भएको विधानको प्रस्तापनामा उल्लेख गरेको छ तर पनि गत युरोप बैठकमा प्रत्यक्ष नेपालको राजनीति रुमलिएको आभासले संघको छवीलाई धमिलाउने कोशिस गरेको महशुस हामी सबैले गरेका छौं । यस विषयमा आइसीसी सल्लाहकार आदरणीय सुरेन्द्र श्रेष्ठले आफुले अनुभूति गरेका आभास सहितको अभिव्यक्तिले अझ धेरै स्पस्ट पारेको छ। आगामी दिनमा यस्तो प्रवृतिको घटना पुरानावृति नहुन एनसीसी अध्यक्ष, आईसीसी सदस्य र अफिस बेअरर तथा पदाधिकारीहरुको गोलमेल बृहत छलफलको माग गर्दछौं ।

३. गैर आवासीय नेपाली संघमा आगामी पिढींको नेतृत्व र क्षमता तथा ज्ञानको बिकासको लागी नयां पुस्तालाई प्रोत्साहन गर्ने भन्ने अमृत वाणी बोल्दै आएको गैर आवासीय नेपाली संघले हरेक बर्ष एकै व्यक्तिलाई कार्यक्रम संचालन गर्ने जिम्मेवारी सुम्पिनुमा गैर आवासीय नेपालीहरुको क्षमता र ज्ञानको बाधक बनिरहेको छ । बिडम्वना कार्यक्रम संचालकले आयोजक देशको नाम सम्म 
बिर्सिएका थिए । त्यसैले आगामी दिनमा यो जिम्मेवारी पनि नयाँ पुस्ताहरुलाई सुम्पनु पर्ने जोडदार माग राख्दछौं।

४. युरोप क्षेत्रको कार्यक्रम भएकोले कार्यक्रमलाई सफल बनाउन युरोपका एनसीसी अध्यक्ष, आइसीसी सदस्यहरुको सकृय भूमिकासहितको सहभागिता हुनु पर्ने थियो तर कार्यक्रमलाई आइसीसी महासचिब ज्यूको सिधै हस्तक्षेप भएको कारणले भूमिका बिहिन अबस्थामा कार्यक्रममा ताली बजाउने, फोटो खिच्ने, शहरमा घुमफिर तीर ध्यान केन्द्रित भयो । NCC अध्यक्ष र ICC सदस्यहरुलाई बैठकमा केन्दित गर्न सकिएन । केवल अर्थ संकलन र सहभागीताको संख्यामा बृद्धि गर्ने काम मात्र उपयोग गर्न कोशिस गरियो। आईसीसी पदाधिकारीहरुलाई क्षेत्रीय बैठकमा सम्मानित अथितिको रुपमा स्वागत गरिनु पर्दछ तर आइसीसी महासचिवले क्षेत्रिय समन्वय परिषद्को काम कर्तब्य र अधिकार तथा जिम्मेवारीलाई सिधा हस्तक्षेप गर्नु गैर आवासीय नेपाली संघको विधान बिपरित हुन आउंछ । आगामी दिनहरुमा आइसीसीले हस्तक्षेप नगर्ने प्रतिवद्धताका साथमा ११ औं युरोप बैठक तथा ९ औं बैठकमा गरेका हस्तक्षेपको क्षमा याचना माग्नु पर्ने माग गर्दछौं ।

५. आइसीसीले क्षेत्रीय संयोजक, उपसंयोजकज्युको काम, कर्तब्य र जिम्मेवारी के के हुन्? निर्धारण गरिदिन हार्दिक अनुरोध पनि गर्दछौं । वर्षको एकपटक क्षेत्रीय बैठक मात्र गर्ने कामलाई पनि आइसीसीको सिधै हस्तक्षेप गर्ने प्रवृति निषेध गर्नुपर्ने देखिएको छ ।

६. युरोप क्षेत्रका ४०-४५ जना आइसीसीहरुको ११ औं युरोप बैठक र ९ औं महिला बैठकमा भूमिका र जिम्मेवारी बिहिन हुंदा आफैंमा अपमानित भएको महशुस भएकोमा आगामी १२ औं युरोप बैठक १० औं महिला बैठकमा यस बिषयको बारेमा बृहत छलफल हुनु पर्दछ ।

७. ११ औं युरोप बैठक र ९ औं महिला बैठकमा युरोप क्षेत्रका एनसीसीहरुको आपसमा बृहत छलफल बहस हुनु पर्ने थियो। तर बर्ष भरिको प्रगती विवरणका लागि छुट्टाएको ५ मिनेटको समय पनि पुरा गर्न नपाई पटक पटक चिट दिने काम बन्द गरिनु पर्दछ।

८. गैर आवासीय नेपाली संघ एउटा भाईचाराको सामाजिक संस्था भएकोले अग्रज तथा आपसी सम्मान, मान मर्यादा क्रम (Protocal) अनुसार गर्ने चलन अग्रजले दिएको शिक्षालाई सधै ग्रहण गर्नु पर्दछ। उपाध्यक्ष कुल आचार्यको नाम प्लेट नै सिटबाट हटाइएको थियो। उपाध्यक्ष कुल आचार्यज्यु बोल्दा महासचिबज्युले गतिरोध उत्पन्न गर्नु शोभनीय होइन । कार्यक्रम सञ्चालकले आइएस (IES) का पदाधिकारीहरु सचिब जानकी गुरुङ र सहकोषाध्यक्ष सोम सापकोटालाई आसन ग्रहण गराउने क्रममा नाम लिन नै भुलेका थिए । धेरै समयपछि मात्र नाम उच्चारण गरेका थिए । माफ माग्नपर्ने थियो तर मागेनन् । यो निर्वाचित आईसीसी पदाधिकारीहरु माथि गरेको ठूलो अपमान र अमर्यादा थियो। बिगतका युरोप बैठकको उद्घाटन सत्रमा NCC अध्यक्ष र ICC सदस्यहरुलाई आसन ग्रहण स्वागत गर्ने चलन थियो तर ११ औं युरोप बैठक तथा ९ औं बैठकको उद्घाटन सत्रमा कार्यक्रममा बिभिन्न देशहरुको NCC को नेतृत्व गर्ने NCC अध्यक्ष र आईसीसी सदस्यहरूलाई कार्यक्रम संचालकले नाम उच्चाहरण सम्म गर्न सक्दा अपमानित भएको आभास भएको छ । प्रोटोकलको महत्वहिन तवरले अगाडी जाने यस्तो चलनको बिकासले हाम्रो नयां पुस्तालाई NRNA मा कस्तो किसिमको शिक्षा र प्रचलन सिकाउन खोजेका हौं यस बिषयमा समिक्षाको माग गर्दछौं ।

९. गैर आवासीय नेपाली संघ युरोप बैठक र महिला बैठक नाम आफैमा विवादित छ । बैठकलाई हामीले ११ बर्षसम्म परिभाषित गर्न नसक्नु हाम्रो अक्षमतालाई स्विकार्नु पर्दछ । एजेण्डा बिनाको बैठक कहिं हुनै सक्दैन। बैठकले निर्णय निकाल्छ तर घोषणा पत्र निकाल्दैन् । बैठकको निर्णय गर्दा सहमति असमति हुन्छ। बहुमतले पारित गर्ने चलन हुन्छ । बैठकमा सहभागी सबैले हस्ताक्षर गरेर सहभागिता जनाउंछन् । बन्द सत्रमा गरिने भएकोले बैठक भनिएको हो।यी कारणले ११ औं युरोप बैठक थिएन । यो साधारण बार्षिक भेला थियो। काम अनुसारको नाम परिबर्तन गर्न माग गर्दछौं ।

१०. ११ औं युरोप बैठक तथा ९ औं महिला बैठकमा आर्थिक पारदर्षिकता बिषयमा छलफल हुनु पर्छ । कुन पाहुनालाई पुरा खर्च व्यहोर्ने हो। अहिले सम्म छलफल स्पष्टसित भएको छैन्। होटेल खर्च करिव २४ हजार युरो के कसरी खर्च भयो? यसको जानकारी सबै गैर आवासीय नेपालीहरुलाई गराउनु पर्दछ। कुन पाहुना को खर्च कति? कसको बिधिवत खर्च ब्येहोर्ने भन्ने छलफलबाट तय हुने बिषय भएकोले पुरै आयव्ययको विवरण संगै छलफल हुनु पर्दछ। बिगतमा भएका युरोप बैठकहरुका हिसावकितावको रकम अझै केन्द्रले प्राप्त नगरेको भनेर बारम्बार NCC हरुलाई ताकेता गरेका छन् । ११ औं युरोप बैठक र ९ औं महिला बैठकमा चन्दादाताले बोलेर पनि रकम उपलब्ध नगराएका ब्यक्तिहरुको नाम सार्वजनिक गर्न माग गर्दछौं ।

११. बिगत ९ औं र १० औं युरोप बैठकले वितरण गर्दै आएको एनआरएनए युरोप सम्मान पुरस्कार यस बर्ष किन निरन्तरता दिन सकिएन? युरोप संयोजकज्युबाट बिस्तृत जानकारी पाउने आशा गरेका छौं ।

१२. गैर आवासीय नेपाली संघ अमेरिकाका संयोजक गौरी जोशी ज्यूलाई २०१८ को सर्बोतम उद्यमी अवार्ड नेपाल ब्रिटेन डट कमले आफ्नो ११ ओ वार्षिकउत्सवमा दिने घोषणा गरेकोमा हार्दिक बधाई छ। तर गैर आवासीय नेपाली संघ युरोपको बैठकसित त्यस पुरस्कारको कुनै सरोकार नरहेकोले त्यो केबल आ-आफ्नो व्यक्तिगत सम्बन्ध बिस्तारको लागि गरिएको कार्यक्रम भएकोले गैर आवासीय नेपाली संघको युरोप बैठकमा किन प्रयोग गरियो? यस बारेमा युरोप संयोजक र महासचिबद्वयबाट स्पस्ट पार्न हार्दिक अनुरोध गर्दछौं।

१३. गैर आवासीय नेपाली संघ ११ औं युरोप बैठक र ९ औं महिला बैठक सधै ढिला सुरु गर्नाले ९ औं महिला बैठकलाई समय नै पुगेन। गैर आवासीय नेपाली संघले नारी समानता, स्वतन्त्रता र महिला सशक्तिकरण र महिला जागरणको ठुला वहस गर्ने गर्दछ तर आधा आकास ढाक्ने महिलाहरूलाई गैर आवासीय नेपाली संघले बेवास्ता गरेको देखियो। युबाहरुलाई निरुत्साहिक गरियो। युबाहरु आक्रोसित भइ कार्यक्रम नै नगर्ने भनेर बहिरिने क्रममा अर्को हलमा युबाहरुको बैठक सन्चालन गरियो। जसको कारणले पुरुष युवाहरु महिलाहरुको कार्यक्रममा सहभागी हुन सकेनन् । महिलाहरूको कार्यक्रममा युबाहरु उपस्थित हुनबाट बन्चित भए। अतः आगामी १२ औं युरोप बैठक र १० महिला बैठकमा महिला तथा युबाहरुको कार्यक्रमको निश्चित मापदण्ड बनाउन माग गर्दछौं ।

१४. विगतका युरोप बैठकहरुमा स-साना समूहहरु बनाएर छलफल गर्ने हरेक सहभागीहरुले आ आफ्नो बिचार राख्ने प्रचलनको विकास भएको थियो। ती सामुहिक बिचारहरुलाई घोषणा पत्रमा समाबेस गरिने गरिन्थियो तर ११ औं युरोप बैठक र ९ औं महिला बैठकमा यस्तो हुन सकेन। कुनै ब्यक्ति ४-५ पटक सम्म भाषण गरे तर खास हुनु पर्ने मेगा प्रोजेक्टहरुको बिषयमा बिस्तृत छलफल हुन सकेन। यस्तो भयो भने संघको बिश्वास र पारदर्शितामा समेत प्रश्न उठने गर्दछ। आगामी १२ औं युरोप बैठक र १० औं महिला बैठक मा सामूहिक बिचारहरु लिने ब्यबस्था हुनु पर्ने र घोषणा पत्रमा पनि समावेश गर्नुपर्ने।

१५. २७ वटा युरोपका एनसीसीहरुको युरोप बैठक भन्ने कार्यक्रमको नामकरण गरेको ठाउंमा हरेक पटक हस्तक्षेप भएको छ। आफ्नोलाई कार्यक्रममा स्थानमा व्यक्तिगत प्रतिशोध, राजनीतिक पूर्वाग्रह, मानसिक दवाव दिने काम गरिएको ज्वलन्त उदाहरण सह संयोजक एकराज गिरीले माइक छोडेर हिंडे पछि बुझ्न सजिलो भएको छ। यस विषयमा छानबीनको माग गर्दछौं।

१६. आईसीसी एनआरएनएन टाक्स फोर्समा बिज्ञको रुपमा नेपालको सवारी दुर्घटना नियन्त्रण तथा रोड सेप्टिको बारेमा गृहमन्त्री, प्रहरी आइजीपी तथा क्षेत्रीय प्रादेशिक र नगरमा काम गरेका NRNA Road safety का संयोजक थर्क सेनले आफ्नो असन्तुस्ट उनको फेसबुकको वालमा बिसाएका छन् । फडिन्द्र पन्थले समय अभावको कारण देखाउंदै कार्यक्रम सकिनु पहिले कार्यक्रम स्थान छाडेको खबर आएको छ। असन्तुष्टी जाहेर गर्दै सहकोषाध्यक्ष सोम सापकोटाले पनि कार्यक्रम सकिनु अघि स्थान छाडेका छन् । धेरै एनसीसी अध्यक्षहरुले एनसीसी लक्जम्बर्गलाई धन्यवाद ज्ञापन गरेको पाइयो तर गैर आवासीय नेपाली संघ युरोपलाई धन्यवाद पनि दिएको देखिंदैन भने कार्यक्रम सफल भएको कसैले उधृत गरेका पनि छैनन् । केवल सम्पन्न भएको मात्रै भनेका छन् । यो सबै प्रतिसोध, अवमुल्याकंन र भेदभावको कारणले भएको थियो। यस्तो बिकृति र बिसंगतिलाई हटाउन बृहत छलफलको माग गर्दछौं ।

१७. ११ औं युरोप बैठक र ९ औं महिला बैठकको घोषणा पत्र युरोप संयोजकले प्रकाशन गर्नु पर्ने थियो किन आईसीसी प्रवक्ता मार्फत प्रकाशित गरियो। यो सिंधै हस्तक्षेप भएको देखियो। के कति कारणले यस्तो भयो? प्रस्ट पार्न हार्दिक अनुरोध गर्दछौं ।

१८. ११औं युरोप बैठक तथा ९ औं महिला बैठकको अत्यन्तै महत्वपूर्ण सेसनहरु मध्ये नेपालको पर्यटन प्रबर्धन र गैर आवासीय नेपालीहरुको भूमिका र एनआरएनले आयोजना गरेको पर्यटन प्रबर्धनको लागि भिडियो प्रतियोगिताबारे घोषणा पत्रमा उल्लेख नपर्नु आपत्तिजनक छ । जुन युरोप बैठकको आकर्षण र नौलो सेसनको रुपमा सबै भन्दा रोचक रहेको उपस्थित सहभागीहरुको प्रतिकृया छ । नेपाल पर्यटन बोर्ड र विभिन्न प्रतिष्ठित संघ संस्था HAN र TAAN जस्ता संस्थाहरुको समेत सहकार्य गर्दै अगाडी बढिरहेका छन् । ११ औं युरोप बैठकको घोषणा पत्रमा किन पर्यटन प्रबर्धन विषयले स्थान पाएन? कारण के थियो जान्ने अपेक्षा राख्दछौं ।

१९. नेदरल्यान्डमा सम्पन गरिएको ५ औं युरोप बैठकमा तात्कालिन अध्यक्ष नारायण आचार्यज्यूले उठान गरिएको आयोजक राष्ट्रका एनसीसी प्रेसिडेन्टले कुनै एक (Opening or closing session) को सभापति गर्ने भन्ने चलन घोषणा पत्रमा उल्लेख गरिएको थियो तर ११ औं युरोप बैठक तथा ९ औं महिला बैठकमा किन खारेज गरिएको हो? स्पष्ट पारिदिनु होला ।

२०. आम्सटर्डम घोषणा पत्रले जारी गरेको मिताव्ययताको नियम कार्यान्वयन होस् ।

यी माथि लेखिएका बुंदागत समस्याहरुलाई समाधान गर्न गैर आवासीय नेपालीहरुको अभिभावक आइसीसीलाई हार्दिक अनुरोध गर्दै गैर आवासीय नेपाली संघ ११ औं युरोप बैठक तथा ९ औं महिला बैठकमा सहभागी तपसिलका एनसीसीहरुले माग गरेका छौं । यदि बेवास्ता गरी एकलौटी तवरमा अगाडी बढियो भने यसको परिणाम १२ औं युरोप बैठक र १० औं महिला बैठकमा नकारात्मक असर पर्ने समेत जानकारी दिन चाहन्छौ।

आदरणीय अग्रज तथा साथीहरु हामीले यि विभिन्न विषयहरु हाम्रो संयुक्त आवाजको रुपमा उठान गरेका छौं ।

धन्यवाद ।

१-बिजय मोक्तान—- जर्मनी
२-योग कुमार फगामी– युके
३-यम लाल सुबेदी —-डेन्मार्क
४-चिन्तामणी सापकोटा–स्पेन
५-कुबेर कार्की——–पोर्तुगल
६- ठाकुर प्रसाद शर्मा –नेदरल्याण्ड
७- राम महतो- स्विजरलाण्ड
८-जिवन जंग कुँवर—– अष्ट्रिया
९-नब राज कोइराला —-आयरल्याण्ड
१०- डा भोजराज सुबेदी— पोल्याण्ड
११- सुवर्ण बिक्रम हमाल —फ्रान्स
१२- अर्जुन कुमार श्रेष्ठ—- स्विडेन
१३-सन्जिब कुमार थापा —-नर्वे
१४- एकराज गिरी युरोप-सहसम्योजक
१५-कुल आचार्य आईसीसी उपाध्यक्ष
१६-जानकी गुरुङ-आईसीसी सचिब
१७-सोम सापकोटा-आईसीसी सह-कोषाध्यक्ष