उमा महेश्वरी, भागवत वाचिका
कम उमेरमा भागवत वाचन गरेर उमा महेश्वरीले आफ्नो परिचय संसारभर फैलाएकी छन् । समाज सुधार र जीवनोपयोगी शिक्षाका लागि भागवत वाचन गरेको उनको भनाइ छ । देवघाटमा रहेको रामजानकी गुरुकुलमा संस्कृत शिक्षा र बाहिर व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गर्दै गरेकी उमाले दर्जन स्थानमा भागवत वाचन गरिसकेकी छन् । उनको भनाइ छ, ‘लोभलालचमा परेर धर्म परिवर्तन गर्नु हुँदैन, धर्मको रक्षा हामीले ग-यौं भने धर्मले हाम्रो रक्षा गर्छ ।’ यिनै सेरोफोरोमा उमासँग कुमार राउतले गरेको गरेको कुराकानी :

० भागवत किन सुन्नु सुनाउनू ?
– भागवत सुनेपछि जीवनमार्गलाई सरल बनाउन मद्दत गर्छ । यसले मोक्ष प्राप्त हुन सजिलो हुन्छ । विशेष गरी पितृ तरेका छैनन् भने भागवतको अध्ययनबाट तार्न सकिन्छ भनिन्छ ।

० यसमा प्रमाणित तथ्य त छैन नि ?
– यी कुराहरू त्यो समयमा विद्वानले टाइम पास गर्न लेखेका होइनन् होला । जीवन मार्गदर्शनलाई सजिलो बनाउन धेरै अध्ययन र अनुसन्धानपछि १८ पुराण लेखिएको हो । त्यसमध्ये भागवत आठौं सर्वश्रेष्ठ पुराण हो ।

० एक सातासम्म पलेंटी मारेर कथा सुन्नू ?
– भनाइ छ नि, कर्म गर्न धर्म छाड्नु हुँदैन । प्रवचन सुन्नुपर्छ भन्ने मात्र होइन, आफूले अध्ययन गरियो भने पनि हुन्छ । पुस्तकमा भएका ज्ञान हासिल गर्नु र पुस्तकको अध्ययन जीवनोपयोगी बनाउनु पहिलो कुरो हो ।

० भागवत सुन्न नयाँ पुस्ताले पनि रुचाउँछन् ?
– कस्तो संस्कारमा हुर्किएको छ, त्यो महत्वपूर्ण हो । हामीले नयाँ पुस्तालाई कस्तो शिक्षा दिएका छौं, त्यसैमा निर्भर रहन्छ । अहिले हामीले अध्ययन गरिरहेको गणित, अर्थशास्त्रलगायतका विषय वेदको सानो अंश मात्र हो । यस्तो पुस्तकको ज्ञान हासिल गर्नुपर्छ भन्ने संस्कार हामीले बसाउनुपर्छ ।

० सारमा हामीले पुस्तकबाट के बुझ्नुपर्छ ?
– राम्रो काम गर्नु, पाप गर्नु हुँदैन । सोच र चिन्तन सिर्जनशील बनाउनुपर्छ । जानीनजानी गल्ती हुन्छन्, त्यसको प्रायश्चित गर्नुपर्छ । सरल जीवनयापनका लागि विभिन्न विम्ब दिएर पुस्तकमा स्रोतालाई बुझाउने प्रयास गरिएको छ ।

० कुन उमेर समूहले सुन्दा राम्रो हुन्छ ?
– यसमा उमेर समूह हुँदैन, तर विशेष गरी बाल्यवस्थादेखि नै सुनियो भने यसको सार्थकता होला । वृद्धा अवस्थामा सुन्नु भनेको टाइमपास मात्र हो ।

० किन बाल्यकालमै सुन्नु ?
– जो राजनीतिमा इच्छा राख्छ, उसले महाभारत अध्ययन गर्नुपर्छ । महाभारतमा राजनीतिमा कस्ता छलछाम हुन्छन्, राज्यसत्ताले कसरी दम्भ देखाउँछ भन्ने कुरा सिक्न पाइन्छ । त्यो शिक्षा राजनीतिज्ञका लागि एउटा पाठ हो । समस्या आइलाग्यो भनेर इज्जत फालेर हिँड्ने होइन, समाधानको कला सिक्न पाइन्छ ।

० भागवत वाचन गर्नुहुन्छ ?
– हो, सार्वजनिक रूपमा मैले अहिलेसम्म झन्डै दर्जनजति कार्यक्रममा भागवत वाचन गरेकी छु । दैविक संस्कार बसोस्, जातीय भेदभाव हटोस्, समाज सुधार होस् भनेर त्यस्ता कार्यक्रममा सहभागी हुन्छु ।

० कति भो वाचन गर्न थाल्नुभएको ?
– १७ वर्षको उमेरदेखि वाचन थालेकी हुँ । वाचन गर्न थालेको झन्डै पाँच वर्ष बढी भएछ ।

० वाचन गरेको शुल्क कति लिनुहुन्छ ?
– तोकिएको शुल्क छैन, स्वेच्छा हो । पैसाभन्दा पनि हाम्रो सनातनीय धर्म रक्षा र समाज परिवर्तनका लागि म यो क्षेत्रमा लागेकी हुँ । सिक्नेक्रममा छु, मेरो वाचन कलामा अझै निखार आउँदैछ ।

० संस्कृत अध्ययन गर्नुभएको हो ?
– गुरुकुलीय शिक्षासँगै म अहिले व्यवस्थापन विषयमा स्नातकोत्तर गर्दैछु । अध्ययन यसै वर्ष सकिन्छ ।

० संस्कृत शिक्षा किन नपढ्नू भएको ?
– दस कक्षासम्म बोर्डिङ स्कुल अध्ययन गरें, त्यसपछि व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गर्दैछु । यो सँगै गुरुकुलीय शिक्षा पनि लिइरहेकै छु । दुवै शिक्षालाई सँगै अघि बढाइरहेकी छु ।

० कमर्स पढेर के बन्नुहुन्छ ?
– कमर्स पढेर बन्ने त बिजनेस लेडी नै हो, तर म के बन्छु अहिले भन्न सक्ने अवस्थामा छैन । शिक्षा लिँदै जाउँ, कहाँ पुगिन्छ पछि थाहा होला ।

० संस्कृत नै अध्ययन गरेको भए हुँदैन थियो ?
– गुरुकुलमा संस्कृत पनि अध्ययन गर्दैछु । गुरुकुलमा बसेकी छु, स्वेच्छाले संस्कृत अध्ययन गरिरहेकी छु ।

० कहाँ छ यो गुरुकुल ?
– चितवनको देवघाटमा । लोककल्याण सेवा प्रतिष्ठानले सञ्चालन गरेको श्रीराम जानकी बालिका गुरुकुल हो । यहाँ ४२ कन्या छन् । उनीहरूले यहीँ बसेर संस्कृत र अन्य शिक्षा हासिल गरिरहेका छन् ।

० कस्ता कन्याले गुरुकुलमा आश्रय पाउँछन् ?
– जात विशेषले प्राथमिकता पाउँदैन, अभिभावक गुमाएका वा कमजोर आर्थिक अवस्था र प्राकृतिक प्रकोपमा परेर असाय जीवन बिताइरहेका कन्याहरू छन् ।

० उनीहरूले कहिलेसम्म बस्न पाउँछन् ?
– कन्याले गुरुकुलको शिक्षालगायत बाहिर गएर पनि अध्ययन गर्न पाउँछन् । आफूले सकेसम्म अध्ययन गर्न पाउँछन् । उनीहरू विवाह गरेर जान चाहे भने जान सक्छन् । सिद्धान्ततः उनीहरू विवाह नहुन्जेल यहाँ बस्न पाउँछन् ।

० यसका लागि खर्च कसरी जुट्छ ?
– वार्षिक सदस्य हुनुहुन्छ, उहाँहरूले वर्षमा एकदिन यहाँका कन्यालाई खाना खुवाउनु हुन्छ । यी कन्याहरू धार्मिक कार्यक्रममा सहभागी हुन्छन् । उनीहरू भजन कीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रममा सहभागी हुन्छन् । त्यसबाट प्राप्त आम्दानीलाई गुरुकुलले कोष बनाएको छ ।

० कस्तो परिवेशमा हुर्किनु भो ?
– विशेषतः आमा आध्यात्मिक स्वभावको हुनुहुन्छ । घरको वातावरण नै आध्यात्मिक बनेको छ । हजुरआमाको पालादेखि नै हाम्रो घरमा धार्मिक माहोल बनेको भनिएको छ ।

० यो परिवारको विशेष जोड ?
– जन्मभूमिको माया गर्दै सनातनीय धर्मको रक्षा हो । लोभलालचमा नपरी मातृभूमिलाई माया गर्दै हाम्रो मौलिक धर्मको रक्षा गरौं ।

० महिलालाई यो काममा सजिलो छ ?
– पहिला थिएन, अहिले भारतमा पनि धेरै महिला विद्वानहरूले प्रवचन दिनु हुन्छ । अहिले बालिकालाई पनि यस्तो काममा प्रोत्साहन गरिएको पाइन्छ । यद्यपि पुरुषवादी समाजमा महिलाको अस्तित्वलाई नकार्न खोज्नेहरू पनि हुन्छन् ।

० बालिकाको प्रवचन किन सुन्नु भन्दैनन् ?
– भन्दैनन्, गुरुहरूले गल्ती सुधार गरिदिनुहुन्छ, व्यक्ति र लिंगभन्दा पनि शिक्षा ग्रहण गर्नु हो । पछिल्लो समयमा चेतनाको स्तरसँगै लिंगीय विभेद कम हुँदै गएको छ ।

० के छ सन्देश ?
– धर्ममा गुण भएकाले नै मानव सर्वश्रेष्ठ प्राणी भएको हो । मातृभूमिको रक्षा गर्दै धर्मको रक्षा गरियो भने धर्मले हाम्रो पनि रक्षा गर्नेछ ।