१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली नागरिकता त्यागेर मात्र ‘एनआरएन नागरिकता’ पाइने

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७५, बुधबार २१:५८

लन्डन । गैर आवासीय नेपाली नागरिक (एनआरएन) लाई दिने भनिएको एनआरएन नागरिकता   पाउन साविकको नागरिकता पहिला त्याग गर्नु पर्ने भएको छ । सरकारका तर्फबाट गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार संसदमा दर्ता गराएको नागरिकता सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको विधेयकमा एनआरएनले नागरिकता पाउन त्यस्तो व्यवस्था गरिएको हो।

२०७२ सालमा जारी भएको ‘नेपालको संविधान’ले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरे बमोजिम विधेयकमा उक्त व्यवस्था गरिएको हो। एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण जुटाउनु पर्ने छ ।

नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितताका आधारमा ल्याइएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा विदेशमा रहेका नेपाली नागरिकलाई शर्तसहित नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

गैर आवासीय नागरिकताबारे गरिएको व्यवस्थामा लेखिएको छ, “विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।”

गैर आवासीय नागरिकता लिन चाहने व्यक्तिले बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र गृहमन्त्रालयसमक्ष पेश गर्नुपर्ने हुन्छ।

एनआरएन नागरिकता लिन प्रमाण पुगेपछि मन्त्रालयले एनआरएनलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ। एनआरएन नागरिकता अन्य नेपाली सरह स्थानिय निकायबाट भने लिने नपाउने व्यवस्था गरिएको छ । गैर आवासीय नेपाली नागरिकले नेपाली नागरिकले पाउने केही अधिकार भने प्राप्त गर्न सक्ने छैनन्।