६ बैशाख २०८१, बिहीबार
Follow Us

जुडो टोली हंगेरी प्रस्थान

sarusaru
२४ श्रावण २०७५, बिहीबार ०३:३३

काठमाडौँ – बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली जुडो टोली आज हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ ।

यही साउन २५ देखि २७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजी मुनि सञ्जीत डंगोल, ९० केजी मुनि श्रीराम मकाजु र १०० केजी मुनि रवीन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
महिलाको ५२ केजी मुनि देविका खड्का, ५७ केजी मुनि मनिता श्रेष्ठ प्रधान र ७८ केजी मुनि पुनम श्रेष्ठले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा सहभागी हुन लागेका सातै खेलाडी इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने खेलाडी हुन् । इण्डोनेसिया एसियाडमा नेपालबाट जुडोमा आठ खेलाडी सहभागी हुँदैछन् । बाँकी एक खेलाडी फुपुल्हामु खत्री टोकियो ओलम्पिक २०२० र एसियाडको तयारीका लागि जापानमा प्रशिक्षणरत छिन् ।

बुढापेस्ट ग्रान्ड प्रिक्समा पुरुष ६० केजी मुनि मोहन बमले पनि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । केही वर्षयता अस्ट्रेलियामा बस्दै आएका मोहन त्यतैबाट बुढापेस्ट पुगिसकेको नेपाल जुडो संघले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि जुडो टोलीले हंगेरीमै प्रशिक्षण गर्नेछ । टोलीलाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

स्वर्ण विजेता सितु सम्मानित

तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण विजेता सितु सिंह मास्केलाई उनको विद्यालय ह्वाइट फिल्ड स्कूलले आज सम्मान गरेको छ ।

नयाँ बजारस्थित आफ्नै प्राङ्गणमा विद्यालयका प्रिन्सिपल दुर्गा श्रेष्ठले अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दोमा स्वर्ण पदक विजेता सितु र उनका प्रशिक्षक कुमार लामा घिसिङलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । यही साउन १२ र १३ गते भएको च्याम्पियनसिपमा सितुले ग्योरोगीमा स्वर्ण र पुम्सेमा कांस्य पदक जितेकी थिइन् ।

प्याराग्लाइडिङ टोली इण्डोनेसिया प्रस्थान

आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा आयोजना हुने १८औँ एसियाडमा सहभागी हुने नेपाली प्याराग्लाइडिङ टोली आज त्यसतर्फ गएको छ ।

नेपाली प्याराग्लाइडिङ टिममा रहेका सबै खेलाडी कास्कीका हुन् । एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ र विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् ।

पाँच पुरुष र तीन महिला खेलाडी गरी आठ खेलाडीले एसियाडका लागि पोखरामा तयारी गरेका थिए । नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टाछुट्टै पदकमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई आज यहाँ आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गर्नुभयो ।

नेपाल प्याराग्लाइडिङको विश्व बरियतामा सातौँ स्थानमा छ । नेपालले यसअघि इण्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल भएको थियो । यस्तै नेपालका छ खेलाडी विश्व बरियतामा उत्कृष्ट १० भित्र रहेका छन् । प्याराग्लाइडिङको प्रतिस्पर्धा भदौ २ देखि १४ गतेसम्म हुनेछ । प्रतियोगितामा १९ देशका १३० खेलाडीले भाग लिँदैछन् ।
रासस