१२ बैशाख २०८१, बुधबार
Follow Us

योजना पूरा भएपछि विवाहबारे सोच्नु पर्ला

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०७५, बिहीबार ०९:५३

ई. शृङ्गा कोइराला
यसै वर्ष शृङ्गा कोइराला इन्जिनियरिङ पासआउट भएकी हुन् । अध्ययनसँगै उनको रुचि कलाकारिता र राजनीति पनि हो । कलाकारिता उनको सौख हो भने पारिवारिक राजनीतिक पृष्ठभूमिमा उनी हुर्किन् । यी तीनवटै विधालाई एक साथ अघि बढाउने चाहना शृङ्गाको छ । यी तीन विधामध्ये जुनमा सफल होइन्छ, त्यसलाई करिअर बनाउने सोचमा उनी छन् । इन्जिनियरिङ पेसा, कलाकारिता र राजनीतिबारे शृङ्गासँग कुमार राउतले गरेको कुराकानी-

० तपाईं इन्जिनियर कि कलाकार ?
– पेसाले इन्जिनियर हुँ, भर्खरै अध्ययन सकियो । कन्सल्टेन्सीमा जागिर खान्छु । अभिनय मेरो रहरको विषय प¥यो । स्कुलदेखि नै नाचगानमा रुचि थियो, त्यो अहिले अभिनयमार्फत पूरा गर्दैछु । अभियन क्षेत्रमा पनि भर्खर प्रवेश गरेकी हुँ । यसका साथै विद्यार्थी राजनीतिमा पनि संलग्न छु ।

० करिअर कुन क्षेत्रमा बनाउनु हुन्छ ?
– मसँग तीनवटा विकल्प छन्, यसलाई एकै साथ अघि बढाइरहेकी छु । इन्जिनियर पेसामा छु, उच्च शिक्षा हासिल गर्न विदेश जान पनि सक्छु । रुचिको क्षेत्र अभिनय हो र पारिवारिक पृष्ठभूमिले राजनीतिमा संलग्न भएकी हुँ । मसँग समय छ, यी तिनवटै क्षेत्रलाई केही समय अघि बढाउँछु, त्यसपछि हेरौं के हुन्छ ?

० कन्सल्टेन्सीमा के गर्नुहुन्छ ?
– प्रोपोजल लेख्नुपर्छ, निर्माणसम्बन्धी डिजाइन गर्ने र आयोजनाको रिपोर्ट तयार गर्छु । विशेष गरी सिँचाइ, नहर, सडक, ढल र पाइपका डिजाइनहरू बनाउनुपर्छ ।

० डाक्टर पढ्न रुचि भएन ?
– म गणित विषयमा ट्यालेन्ट विद्यार्थी हुँ, त्यसैले इन्जिनियर नै बन्छु भन्ने मलाई लागेको थियो । सोही कारण डाक्टर पढ्ने सोच मेरो दिमागमा कहिल्यै आएन ।

० इन्जिनियर पढेर के गर्छु भन्ने थियो ?
– त्यस्तो ठूलो भौतिक पूर्वाधार निर्माण गर्ने सपना देखेर मैले इन्जिनियर पढेकी होइन । यो क्षेत्रमा केही योगदान पु¥याउन सक्छु भन्ने लागेको छ । भर्खर किताबी ज्ञान हासिल गरेको सिर्टिफिकेट हातमा छ, काम सिक्दैछु ।

० इन्जिनियरिङको कुन विधा पढ्नुभयो ?
– सिभिल इन्जिनियर हुँ, भौतिक निर्माणसम्बन्धी नै काम गर्नुपर्छ । बिल्डिङको डिजाइन, सुरक्षित र गुणस्तरीयतामा ध्यान दिनुपर्छ ।

० यसका लागि त सफ्टवेयरले सजिलो बनाएको होला नि ?
– हो, सफ्टवेयरकै सहयोगमा हामीले काम गर्नुपर्छ । सफ्टवेयरले काममा धेरै सजिलो बनाएको छ ।

० इन्जिनियर भएपछि जागिर सजिलै पाइन्छ ?
– पाइँदैन, वर्षमा झन्डै १२ हजार इन्जिनियर उत्पादन हुन्छन्, त्यो जनशक्ति नेपालमा विस्तारै खपत हुन थालेको छ । यद्यपि यहाँ जागिर खानलाई ठूलै प्रतिस्पर्धा गर्नुपर्छ ।

० पढ्न चाहिँ सजिलै पाइन्छ ?
– त्यसका लागि पनि प्रतिस्पर्धा गर्नैपर्छ । सरकारी कलेजमा पढ्न ठूलै प्रतिस्पर्धा हुन्छ । निजी कलेजहरूमा पढ्दा महँगो पर्छ ।

० तपाईंले सरकारी कलेजमा पढ्नुभएको हो ?
– होइन, सरकारी कलेजमा नाम निकाल्न सकिएन । काठमाडौं इन्जिनियरिङ कलेजमा पढेकी हुँ । अध्ययन सकिँदा झन्डै १२ लाख रुपैयाँ सकियो ।

० कला क्षेत्रसँग कसरी जोडिनुभो ?
– मेरो सानैदेखिको रुचि हो । स्कुल पढ्दादेखि नै नाचगानमा रुचि राख्थें । यसपटक तीजको एउटा गीतमा अभिनय गर्ने अवसर पाएँ ।

० कला क्षेत्रमा करिअर बनाउन सकिन्छ ?
– हेर्दै जाउँ के हुन्छ, सुरुवाती दिनमा छु ।

० अभिनय गर्न सजिलो हुँदोरहेछ ?
– कहाँ हुनू, धेरै मेहनत गर्नुपर्ने रहेछ । तीज गीतमा अभिनय गर्दाको अनुभवले यो क्षेत्र पनि त्यति सजिलो जस्तो लागेन । गीत सुटिङका लागि दुई चार दिन अभ्यास गरेपछि अभिनय गरेकी हुँ ।

० चलचित्रका लागि अफर आयो भने नि ?
– स्क्रिप्ट हेर्नुपर्छ, आफूले अभिनय गर्ने चलचित्रको अध्ययन गर्छु । त्यसपछि अभिनय गर्ने वा नगर्ने निर्णय लिन्छु । अभिनयको अवसर आयो भन्दैमा हामफालेर जाँदिनँ ।

० राजनीतिसँग कसरी जोडिनुभयो ?
– बुवा बासुदेव कोइराला नेपाल विद्यार्थी संघका नेता हुनुहुन्थ्यो । उहाँ महामन्त्रीसम्म हुनुभयो । अहिले उहाँ हुनुहुन्न । मावली घर पनि राजनीतिसँग जोडिएको थियो । त्यसैको माध्यमबाट म पनि विद्यार्थी राजनीतिमा संलग्न भएँ ।

० पदमा पनि बस्नुभएको छ ?
– प्राविधिक विद्यार्थी परिषद्को कोषाध्यक्ष हुँ । कलेजको विद्यार्थी निर्वाचनमा पनि सहभागी थिएँ, तर निर्वाचित हुन सकिनँ ।

० भविष्यमा राजनीति गर्छुजस्तो लागेन ?
– किन नलाग्नू, कलेजको निर्वाचनमा पराजित भएँ भन्दैमा राजनीति नगर्ने भन्ने हुँदैन होला । मेरो बुवाले सुरु गरेको राजनीतिलाई टुंगोमा पु¥याउँछु भन्ने लक्ष्य लिएकी छु । तत्काललाई राजनीतिमा समय दिन नसकेको चाहिँ पक्कै हो ।

० कोइरालाहरूको लिगेसी पनि जोडिन्छ ?
– हामी सुनसरीका हौं, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुजाता कोइराला सुनसरीबाट चुनाव लड्दा हाम्रो घरबाट निर्वाचन कमिटी परिचालन हुन्थ्यो । यसलाई कसरी बुझ्नुहुन्छ ?

० कला क्षेत्रमा लागेको परिवारलाई मन परेको छ ?
– म जे गर्छु राम्रोका लागि गर्छु भन्ने कुरा मेरी आमालाई विश्वास छ । राम्रो गर्ने चाहनाले नै यो क्षेत्रमा लागेकी हुँ, त्यसैले घरपरिवारबाट मलाई अझ पे्ररणा मिलेको छ ।

० दर्शकबाट चाहिँ कस्तो प्रतिक्रिया आयो ?
– सबैले राम्रो अभियन भने । आफूलाई पनि चित्त बुझेको छ । पहिलो अवसरमै यति गर्छुजस्तो लागेको थिएन । तर राम्रै गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास बढेको छ ।

० विवाह गर्नुभयो ?
– छैन, अहिलेसम्म समाजमा परिचित हुने फेज चालिरहेको छ, त्यसैले विवाहबारे दिमागमा केही आएको छैन ।

० रिलेसनमा बस्नुभएको होला नि ?
– त्यस्तो पनि छैन, सबैभन्दा पहिला आफ्नो परिचय बनाउने योजना छ । यो योजना पूरा भएपछि विवाहबारे सोच्नु पर्ला ।

० जीवनसाथी हुँदा करिअरमा सपोर्ट पुग्दैन र ?
– पुग्छ होला, तर सबैको आ–आफ्नै योजना हुन्छन् । योजनाअनुसार अघि बढिएन भने दुर्घटना हुनसक्छ । त्यसैले विवाहलाई मैले अहिले प्राथमिकतामा राखेकी छैन ।

० स्कुल कलेज पढ्दा लभ परेन ?
– सेन्ट म्यारिज पढेकी हुँ, केटीहरू मात्र पढ्ने स्कुलमा पढेकाले लभ पर्ने सम्भावनै भएन ।