७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्व काउन्सिलर गुरुङले कल्याणकारी परियोजनाका लागि एकल सांगीतिक साँझ आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७५, बिहीबार १९:०६

फोकस्टोन ।

फोकस्टोनमा गोर्खा सालिक निर्माण परियोजना सफल पारेर चिनिएका बेलायतमा काउन्सिलर पदमा निर्वाचित पहिलो व्यक्तित्व धन गुरुङले एउटा कल्याणकारी परियोजनाकालागि एकल सांगीतिक साँझ आयोजना गर्न लागेका छन्।

झापा जिल्लामा जन्मिएका गुरुङको सांगीतिक पाटोप्रति धेरैलाई थाहा छैन। तर उनले १२ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा थालनी गरेका हुन्। कोलकाताको म्युजिक एकेडेमी, काठमाडौं र पछि केन्ट कलेज, केन्टरवरी, युकेमा संगीतको अध्ययन गरेका उनले कैयौं गीत रचना गरेका छन् भने संगीत पनि भरेका छन्।

गितार, पियानो र म्यान्डोलिन बजाउने उनले रेडियो नेपालद्वारा आयोजित प्रतिभाको खोजी कार्यक्रममा पनि सहभागिता जनाएका थिए। त्यस्तै उनले टेलिभिजन सिरियलहरु रक्सी, प्रतिघात र सत्यको विजयमा संगीत निर्देशकको जिम्मेवारी पनि निर्वाह गरेका थिए।

सन् १९८७ मा ब्रिटिश सेनामा भर्ती भएका उनले सन् १९९१ देखि २००२ संम द हिमालयन टु व्याण्डको नेतृत्व गर्दै हङकङ, ब्रुनाइ, मलेसिया र युकेमा सांगीतिक प्रस्तुति गरेका थिए। सो व्याण्डले मेरी आमा, तिमी र म, संझाइ देउ न कान्छीलाई जस्ता लोकप्रिय एलबमहरु प्रकाशनगरीसकेको छ। सो व्याण्डका अन्य सदस्यमा राजीव राई, पवन थापा र विनय राई छन्। ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने सांगीतिक कार्यक्रममा गोर्खा नेप्लीज रक व्याण्ड युकेका आशिक गुरुङ, उर्मिला पल राई, रबीन लिम्बु र क्लासिकल नर्तकी फ्रान्सिस्का घले राईले प्रस्तुति गर्ने पनि आयोजक गोर्खा म्युजिक फाउण्डेशन युकेले जनाएको छ।