६ बैशाख २०८१, बिहीबार
Follow Us

लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७५, शुक्रबार ११:५०

काठमाडौं । अबदेखि डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए वा अंगभंग भएमा त्यस्ता डाक्टरलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता)ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ- ‘कानुनबमोजिम इलाज (उपचार) गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’

त्यस्तै चिकित्सा सम्बन्धि विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरेपनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा मात्रै तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने प्रावधान छ ।

यस्तै मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ । इलाज सम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सकिनेछ ।

यस्तो छ व्यवस्था

इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने : (१) चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(४) उपदफा (१) विपरीत हुने गरी चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ ।

बद्नियत चिताई इलाज गर्न नहुनेः

(१) कसैले कसैको ज्यान मार्ने वा अङ्गभङ्ग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अङ्गको चिरफार गर्नु पर्नेमा अर्को अङ्ग चिरफार गर्न वा त्यस्तो अङ्ग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:

(क) कसैको ज्यान गएकोमा ज्यान मारे सरह,
(ख) कसैको अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गराए सरह ।

२३२. लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न नहुने :

(१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र हेलचत्र्mयाई गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।