६ बैशाख २०८१, बिहीबार
Follow Us

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७३, सोमबार ०६:०४

काठमाडौं । नेपाल तरुण दलको चौँथो राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ । अध्यक्ष उदयशमशेर राणाले भदौ २१ र २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो ।

अध्यक्ष राणाले ५५ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भैसकेकाले बाँकी जिल्लाको भदौ मसान्तसम्म सकेर अधिवेशन सम्पन्न गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको थियो । त्यसैले मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जान्छौँ ।”

उहाँले वर्तमान केन्द्रीय समितिलाई चुनाव लड्न नपाउने भनिएता पनि चुनाव लड्न पाउनुपर्ने माग निर्देशन समिति र पार्टीलाई बुझाइसकिएको .स्पष्ट पार्नुभयो । दलमा विवाद देखिएको बेलामा निर्वाचन सम्भव छ ? भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष राणाले ४५ केन्द्रीय समितिमध्ये २७ जनाको निर्णयलाई आधार मानेर महाधिवेशन गर्न लागिएको बताउनुभयो ।

निर्वाचन भएका जिल्लामा निर्वाचन गरिने तथा नभएका जिल्लालाई त्यत्तिकै छाडेर महाधिवेशनमा जाने उल्लेख गर्नुभयो । सङ्गठनभित्र देखिएको विवाद मिलाउन दलले अध्यक्ष राणाको अध्यक्षतामा पाँच सदस्यीय समिति बनाएको छ ।

महिला सङ्घको महाधिवेशनको सम्पूर्ण तयारी पूरा

नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि काठमाडौँमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घले जनाएको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गरी सङ्घकी अध्यक्ष डा डिला सङ्ग्रौलाले ७४ जिल्लामा अधिवेशन सकिएको र बाँकी एक जिल्लाको पनि चाँडो गरेर २९ गतेदेखि काठमाडौँमा महाधिवेशन गर्न लागेको बताउनुभयो ।

भदौ २९ गते बिहान १० बजे शान्तिबाटिकाबाट विभिन्न झाँकी र -यालीसहित भृकुटीमण्डपमा आउने र १२ बजे नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घकी प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै महाधिवेशनका लागि सुन्धारा, बागबजार, ठमेललगायतका क्षेत्रमा होटल बुकिङ गरिसकिएको सङ्घले जनाएको छ । सङ्घको महाधिवेशनमा ५० प्रतिशत महिलालाई अधिकार, हिंसामुक्त समाजलगायतका मुद्दाबारे छलफल हुनेछ ।

सङ्घको प्रतिनिधि विवादका कारण रुपन्देहीको महाधिवेशन हुन सकेको छैन । दुई हजार २०० प्रतिनिधि रहेको सङ्घले निर्वाचनका लागि मतदान भोटिङ मेसिनको प्रयोग गर्ने जनाएको छ ।