१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भदौमा कांग्रेस महासमिति बैठक नहुने

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७५, शुक्रबार १५:१२

काठमाडौं । नेपाली कांग्रेसभित्र महासमितिको बैठकबारे संस्थापन र संस्थापनइतरका नेताबीच जुहारी चल्न थालेको छ । संस्थापन पक्षले भदौमा महासमिति बैठक बोलाउन नसकिने भन्दै समय लम्ब्याउन चाहेको छ भने संस्थापनइतरका नेता तोकिएकै समयमा बैठक बोलाउन माग गर्छन् ।

नेपाली कांग्रेसभित्र भदौमा महासमिति बैठक गर्ने चर्चा चलेपनि अन्ततः नहुने निश्चितझैं भएको छ । संस्थापन पक्षका नेताहरुले महासमिति बैठक डाक्ने विषयमा आलटाल गरेर समय घर्काइरहेको आरोप संस्थापनइतरका नेताहरुले लगाएका छन् । उनीहरुले भदौभित्र महासमिति बैठक नडाके कडा विरोध गरिने त बताएका छन् । तर, यो फगत चेतावनीमै सीमित हुने देखिँदैछ ।

संस्थापन पक्षका नेता भने विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा बैठक प्रभावित भएको तर्क गर्छन् । महासमिति बैठकको मुख्य एजेन्डा नै विधान संशोधन हो । एकात्मक राज्य प्रणालीको पार्टी संरचनालाई संघीय संरचनामा रुपान्तरण गर्न महासमिति बैठकबाट विधान संशोधन गर्ने गर्नुपर्ने अवस्था छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले विविध कारणले भदौमा महासमिति बोलाउन नसकिने भन्दै दसैंअगाडिको कुनै समयमा महासमितिको बैठक बोलाइने बताउँछन् । कसैको लहडमा बोलाउने / नबोलाउनेभन्दा पनि पार्टीको आवश्यकताअनुसार पार्टीले उपयुक्त समयमा बैठक बोलाउने तर्क उनको छ ।

केन्द्रीय सदस्य गुरुराज घिमिरे पनि समिति गठनमै किचलो भएकाले महासमिति बैठक बोलाउनेमा अन्योल देखिएको बताउँछन् । चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले भदौमा महासमिति बैठक बोलाउने निर्णय गरेको थियो ।

विधानमा प्रत्येक वर्ष महासमिति बैठक डाक्ने प्रावधान भएपनि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएको अढाइ वर्ष भइसक्दा एकपटक पनि महासमिति बैठक गरिएको छैन । यसबाट पार्टीभित्र व्यापक असन्तुष्टि चुलिएको छ ।

महासमितिको बैठकले पार्टीलाई जीवन्तता दिन र मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्छ । तर, यही निकायको बैठक अनिश्चित हुँदा सांगठनिक अवस्था अस्तव्यस्त छ । नेताहरु भने एकार्काको अरोप–प्रत्यारोपमै सीमित छन् । महासमिति बैठक पर धकेलिँदा त्यसले पार्टीभित्र नकरात्मक असर त पारेको छ नै नेताहरुलाई सकरात्मकरुपमा काम गर्ने वातावरणसमेत बनेको छैन ।