१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टेलिकमकी प्रबन्ध निर्देशक कामिनीको हातमा स्पष्टिकरणको पत्र

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७५, आईतवार ०९:१३

काठमाडौं । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले ७२ घणटे स्पष्टीकरण सोधेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अब कुनै मौका नदिने गरी कामिनीलाई स्पष्टीकरण सोधेको हो । उनलाई शुक्रबार नै स्पष्टीकरण पत्र थमाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जानकारी दिएको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए अब कामिनीलाई मन्त्रिपरिषदको निर्णयबाट बर्खास्त गरिनेछ ।

‘भण्डारीले तीन महिनाभित्र टेलिकमको स्थितिमा सुधार गर्ने बताउनुभएको थियो,’ सूचना तथा सञ्चार प्रविधि मन्त्रालय स्रोतले भन्यो, ‘तर उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्नुभएन । टेलिकम झन् धरासयी बन्दै गएको छ । त्यही भएर स्पष्टिकरण सोधिएको हो ।’

गत वैशाखमा पनि कामिनीलाई स्पष्टीकरण सोधिएको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यसम्पादन शर्तहरु राखेर सचेत मात्र गर्न निर्णय गरेको थियो । उनीसँग शर्तनामा बमोजिम टेलिकमको सेवा नसुधि्रएको र कम्पनी थप ओरालो लागिरहेको निश्कर्ष सरकारले निकालेको छ ।

‘पटक पटक टु-जी र थ्रीजीसेवा विस्तारमा ढिलाई गरिरहेको चिनियाँ कम्पनीलाई थप साढे २ अबरुपैयाँ रकम दिएको र त्यसमा रिटायर्ड हुन लागेका कर्मचारीलाई हस्ताक्षर गर्न लगाएको पाइएको छ । यसबारे सरकारलाई कुनै जानकारी नै नगराएको पाइएपछि पनि उनीमाथि स्पष्टीकरण सोधिएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

२०७३ असोजमा तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।

उनले २०४२ सालमा ईन्जिनियरको रुपमा टेलिकम प्रवेश गरेकी हुन् । प्रबन्ध निर्देशक हुनुअघि उनी टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन् ।