१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माद्वारा अदालत समक्ष आत्मसमर्पण

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार ०९:४३

काठमाडौं । सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक थमन बिक हत्याको अभियोग लागेका दुई नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अदालत समक्ष आत्मसमर्पण गरेका छन् । मन्त्री शर्मा आज जिल्ला अदालत महोत्तरीमा उपस्थित भएका हुन । शर्माले आत्मसमर्पण गरेपछि अदालतमा थुनछेक बहस भैरहेको छ ।

उनीमाथि तराइ मधेसका आन्दोलनकारीको कुटाइबाट सख्त घाइते भई एम्वुलेन्समा उपचारका लागि अस्पताल लैजादै गरिएका बिकको हत्याको अभियोग छ । प्रहरीको फरार सूचिमा रहेका राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेशसभा सदस्य शर्मालाई केही समयअघि मुख्यमन्त्री लालबाबु राउतले सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका थिए ।

उच्च अदालत जनकपुरले प्रक्राउ गरी सम्वन्धित अदालतमा बुझाउन परामदेश जारी गरेपछि शर्मा अदालतमा उपस्थित भएका हुन । राजपा अध्यक्षमण्डलले पनि असइ हत्याकाण्डका आरोपितलाई अदालतमा हाजिर हुन निर्देशन दिएको थियो ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा राज्यमन्त्री शर्मासहित २८ जनाविरुद्ध मुद्दा लागेको छ । २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा असइ विकको हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।