१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विप्लव नेकपाको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७५, मंगलवार ०४:४५

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् ।

मकवानपुरको टिष्टुङमा आज मंगलबार बिहान करिव ६ बजे स्कुल बसमा आगजनी भएको छ । नेपाल बन्दको क्रममा भन्सार छुटाएर काठमाडौँ लैजादै गरेको स्कुल बसमा आगजनी भएको प्रहरीले जनाएको छ । बस पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पातलिएको छ । उपत्यकाभित्रै बम फेला पर्दा त्रास झनै बढेको छ । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ ।

सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो । दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनु भयो । त्यसैगरी पश्चिमी भेकमा बन्दको असर बढी रहेको छ । पश्चिममा सार्वजनिक यातायात ठप्प रहेका छन् । पूर्वतिर बन्दको सामान्य असर परेको छ । विभिन्न ठाउँमा शंकास्पद बस्तु राखिएको छ । केही ठाउँमा सुरक्षाकर्मी बम विस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।

चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले बन्द लगायतका विरोधका कार्यक्रम गरेको हो ।