८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा डा. तुलसी दिवश र डा. गोविन्दराज भट्टराईको अभिनन्दन

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७५, मंगलवार ०६:२३

लन्डन । नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके द्वारा समस्त साहित्यकारहरूको तर्फबाट नेपालबाट पाल्नु भएका वरिष्ठ साहित्यकारहरू द्वय प्रा.डा. तुलसी दिवश र प्रा.डा. गोविन्दराज भट्टराईलाई अभिनन्दन सम्मान गरेकोछ ।

विगत चार दशक भन्दा बढी समयदेखि अनवरतरूपमा नेपाली भाषा साहित्यको क्षेत्रमा आफ्ना जीवनका अमूल्य समय दिदै नेपाली सिहित्यको विश्वब्यापी विकास र संचार गराउन उहाँहरूको महत्वपूर्ण योगदानको उच्चतम कदरस्वरूप वरिष्ठ साहित्यकारहरू द्वय प्रा.डा. तुलसी दिवश र प्रा.डा. गोविन्दराज भट्टराईलाई बेलायतमा अभिन्नदन् सम्मान् गरिएको कुरा परिषदले विज्ञप्तिमा जनाएको छ ।

बेलायतको एतिहासिक सहर केन्टबरीस्थित केन्टबरी चर्च युनिभर्सिटीमा सम्पन्न दोस्रो विश्व साहित्य सम्मेलन समारोहमा बेलायतमा रहेका समस्त साहित्यकारहरूको तर्फबाट नेपाली साहित्य विकास परिषद यूके द्वारा अर्पण गरिएको अभिनन्दन सम्मान परिषदका संरक्षक प्रमुख अतिथि महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले कर्तल ध्वनीकासाथ वरिष्ट साहित्यकारहरू द्वय प्रा.डा.तुलसी दिवश र प्रा.डा. गोविन्दराज भट्टराईलाहई सुशोभन गराउनु भएको थियो ।

यस अघि परिषद्का अध्यक्ष कोमल मल्लले उक्त अभिनन्दन सम्मान स्तुति वाचन गर्नु भएको थियो । यसैगरी समारोहमा वरिष्ट साहित्यकार खगेन्द्र संग्रौला, पूर्व राजदूत प्रा. नवलकिश्वर राई, गीतकार भावेश भूमरी, शिला सेरिगड लगायतका अतिथि साहित्यकारहरूमा परिषदका संस्थापक सुरेशजंग शाह, अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल, पूर्वअध्यक्ष हरिसिँह थापा, सल्लाहकार घनबहादुर थापा, उपाध्यक्ष डा. सुधा श्रेष्ठ, महासचिव वीरेन्द्र कुँवर, कोषाध्यक्ष मनोज अन्जान, कार्यकारिणी सदस्य डम्बर सिँह र कल्पना आङ्बुहाङ आदि पदाधिकारीहरूले स्वागत सम्मान तथा उपहार अर्पण गर्नुभएको थियो ।

सम्मेलनको समापन पछि सहभागी अतिथि साहित्यकारहरूको सम्मानमा नेपाली साहित्य विकास परिषद यूके द्वारा स्थानिय चम्चम् रेस्टुरेन्टमा रमाइलो रात्रिभोजको आयोजना गरिएको थियो । यही 12 अगस्त आइतवारका दिन विश्व नेपाली साहित्य महासंघ र नेपाली साहित्य विकास परिषद यूके को सहआयोजनामा उक्त दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको थियो ।
– कोमल मल्ल