१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चालु आर्थिक वर्षमा कम्तीमा एक लाख व्यक्तिलाई रोजगारी : मन्त्री विष्ट

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७५, बुधबार १०:०८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही दिनभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारसम्बन्धी उत्साहजनक कार्यक्रम ल्याउने जानकारी गराएका छन् ।

उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमले चालु आर्थिक वर्षमा कम्तीमा एक लाख व्यक्तिलाई रोजगार सिर्जना गर्न नयाँ कार्यक्रम ल्याउन लागेको बताए । यसका लागि सातवटै प्रदेशमा रोजगार केन्द्र स्थापना गरिने उनले जानकारी दिए ।

मन्त्री विष्टले रोजगारीको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गर्न रोजगार सम्बन्धी ऐन छिटै संशोधन गर्ने तयारीमा सरकार रहेको बताए । उनले रोजगारीको अवसर नपाएका गरीब समुदायलाई एक सय दिन रोजगारीको अवसर सिर्जना गर्ने मापदण्ड पनि सरकारले तयार पारेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राजनीतिबाट अलग्गै राखिने बचन पनि उनले दिए ।

बालश्रम निवारणका लागि गुरुयोजना पारित भईसकेको जानकारी गराउँदै उनले ईट्टाभट्टालगायत जोखिमपूर्ण काममा बालबालिकाको प्रयोग पूर्ण रुपमा बन्द गरिने बताए ।

मन्त्री विष्टले अबको दुई महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू भईसक्ने बताए । उनले स्वदेशमै रोजगारको वृद्धि गर्दै नेपालको श्रमशक्तिलाई विकास र समृद्धिका लागि प्रयोग गरिने सरकारको लक्ष्य रहेको बताए ।

समितिका सदस्यहरुले नेपालमा रोजगारीको अवसर सिर्जना गर्नका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए ।