१५ चैत्र २०८०, बिहीबार
Follow Us

रत्न मन्दिरलाई सङ्ग्रहालयमा विकास गरिने

sarusaru
३१ श्रावण २०७५, बिहीबार ०२:३३

पोखरा – प्रदेश सरकारले फेवातालको किनारामा अवस्थित रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने तयारी गरेको छ ।

रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर तिनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरिएको हो ।

नेपाल ट्रष्टको मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

“हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने हाम्रो योजना छ”, उहाँले भन्नुभयो, “यहाँ संसारभरका पर्यटकलाई नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक सङ्ग्रहालय बनाउने तयारी रहेको छ ।”

पूर्वराज परिवारले सीतकालीन दरबार(विन्टर प्यालेस)का रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतिकका रुपमा सङ्ग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीय बासिन्दाले माग गर्दै आएका थिए ।

स्व राजा वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर विसं २०६३ को राजनीतिक परिवर्तनसँगै मन्त्रिपरिषद्को निर्णयले नेपाल ट्रष्टको स्वामित्वमा ल्याएको थियो । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर विसं २०६७ देखि नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।
रासस