८ बैशाख २०८१, शनिबार
Follow Us

मेरै कार्यकाल भित्र एनआरएन भवन बन्छ: अध्यक्ष घले

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७३, सोमबार १३:२७

हेमन्त काफ्ले । गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय अध्यक्ष शेष घले संस्थाको काम, कर्तब्य र विश्वसनियतामा ठूलो परिवर्तन आए पनि यसका सदस्य संख्यामा भने सोचेअनुरुपको सहभागिता हुन नसकेको बताए।

पछिल्लो एनआरएन विवाद र जापान एनआरएनमा राखिएको पैसा बिवादको बिषयमा भने उनले हचुवाका भरमा गोप्य बैठकको कुरा सार्वजनिक हुनु नपर्ने बताए ।
‘एनआरएनको माइन्यूट सार्वजनिक नभएसम्म के भएको त्यो सत्य तथ्य बाहिर आउँदैन, हामीले माइन्युट र त्यहाँ भएको र उठेका सन्दर्भहरुलाई समेटर निर्णय सार्वजनिक गर्ने छौ, अनि मात्र यस बिषयमा प्रष्ट हुन्छ,’ उनले भने।

उनले एनआरएनले छोटो समयमा कमाएको ख्याती र प्रतिष्ठालाई स्थायित्व दिने विषय चूनौतीपूर्ण रहेको बताए। ‘हामीले देखाउने कार्यक्रम होइन, ब्यवहारमा उतार्ने र समाजमा प्रभाव पार्ने योजना ल्याउनु जरूरी छ,’ उनले भने।

उनले एनआरएनको जग्गाको विषयमा चलेको विवादमा कुनै सत्यता नरहेको भन्दै नक्सा पास भइसकेको र आफ्नै कार्यकाल भित्र बनिसक्ने बचनबद्धता पनि प्रकट गरे। घलेले अगाडि भने, ‘नेपाल हो मुद्दा जसले पनि हाल्न सक्छन् तर भवन नक्सा पास र टेन्डरको प्रकृयामा अगाडि बढिसकेको छ।’

एनआरएन अस्ट्रेलियाको आयोजनामा सिड्नीमा आइतबार अबेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै एनअराएन अध्यक्ष शेष घलेले भने, ‘विश्वास सबैभन्दा ठूलो कुरा हो, हामीले कमाएको बिश्वासलाई ढल्न दिनु हुँदैन। ब्यक्ति आउँछन् जान्छन् तर संस्था र त्यसको पहिचान कायमै राख्न हामीले काम गर्नुपर्छ।’

केही भावुक, केही जोशिला देखिएका शेषले कार्यक्रममा भने, ‘भूकम्पको बेला आएको सहयोगलाई दुई चरणमा बाडिएको थियो, एउटा प्रारम्भीक उद्धार र अर्को पुननिमार्ण। हामीले पहिलो चरणमा उठेको रकम उद्धारमा खर्च गर्‍यौं, दोस्रो चरणमा हाम्रो सहयोग पुन निमार्णमा लागेको छ। हामीले एक हजार नमुना घरको तयारी गरिसकेका छौ,लाप्राकमा बन्ने ती सहयोगी घरहरु नमुना बस्तीका रुपमा रहनेछन्,’ घलेले भने।

युवा, महिला तथा विदेशमा जन्मिएका दोस्रो पुस्ता लगायतका बिषयवस्तुलाई आफूले गम्भीरतापूर्वक लिएको समेत घलेले बताए। उनले भने, ‘लामो समय एनआरएन अभियानका रुपमा रहेको दोहोरो नागरिकताका बिषयमा टुंगो लाग्यो, खुला विश्वविद्यालयमा एन आर एन ए को साझेधारी, मोबाइल एप्स, काठमाडौँमा सचिवालय स्थापना, नेपाल आर्मीसँग रक्षा मन्त्रालयमा हालै भएको समझदारी सम्झनालायक उपलब्धि रहे।’

कार्यक्रममा घलेले एनआरएन नेपालमुखी मात्र भयो भन्ने आवाज समेत उठ्न थालेको बताए । उनले भने, ‘प्रवासी नेपालीहरुको समस्याका बिषयमा हामी गम्भीर छौ र त्यो हाम्रो प्राथमिकताको बिषय पनि हो। मध्यपूर्व र खाडीका बिषयमा एनआरएनले थुप्रै योजना अघि सारेको छ।’

उनले केही प्रवासी नेपालीहरुले एनआरएनजस्तै अर्को संस्था खोल्ने अभियान थालेकोमा त्यसतर्फ इगिंत गर्दै भने , ‘किन अर्को खोल्नु पर्‍यो यसैमा आउनुहोस्, अर्को खोल्दा फेरि यहाँसम्म ल्याइपुर्‍याउन २० वर्ष लाग्छ। यसैमा चित्त नबुझेका कुरा राख्नुहोस्। अगाडि बढनुहोस्।’

नेपालको पुनर्निर्माण र विकासमा एनआरएन एउटा सच्चा साथी बन्नेमा आफू ढुक्क रहेको समेत घलेले जिकिर गरे। कार्यक्रममा एनआरएन अस्ट्रेलियाका युथ कोओर्डीनेटर विजय पोखरेल, संस्थापक अध्यक्ष मन केसी, कार्यवाहक अध्यक्ष दिनेश पोख्रेल, महाबाणिज्यदूत दिपक खडका, पब्लिक अफिसर शमिम अनवर लगायतले धारणा राखेका थिए।