११ बैशाख २०८१, मंगलवार
Follow Us

विश्वकर्मालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७५, शुक्रबार १४:५७

काठमाडौं । व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको हो। प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतवार दायर गरेका थिए ।

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियो । उनीमाथि ७ करोड चन्दा असुलेको आरोप थियो ।