१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्राञ्जल र थापा बेलायत आउँदै, लण्डनमा गजलसाँझ

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७५, शुक्रबार १५:१०

लन्डन । मोतीजयन्तीको अवसर पारेर बेलायतको राजधानी लण्डनमा ‘गजलसाँझ’ को आयोजना गर्न लागिएको छ । एनआरएनए, युकेको भाषासाहित्य विभागको आयोजनामा युवाकवि एवं प्रसिद्ध गजलकार मोतीराम भट्टको संस्मरण गर्दै पहिलोपल्ट भव्य रूपमा गजलसाँझको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए ।

सेप्टेम्बर ९, आइतबारका दिन लण्डनको साउथह्यारोस्थित ‘ह्यारो बरो फुटबल क्लब’ मा आयोजना हुने कार्यक्रममा गजलवाचनका निम्ति नेपालबाट प्रसिद्ध गजलकार रवि प्राञ्जल र करुण थापा बेलायत आउन लागेको आयोजक समिति सदस्य लक्ष्मी राई ‘लारा’ ले जानकारी गराइन् । प्राञ्जल र थापाले कार्यक्रममा १०-१० वटा गजलवाचन गर्नेछन् । “नखुलेको आकाश खुलेर आयो” भन्ने रवि प्राञ्जलको प्रसिद्ध गजल पनि उक्त कार्यक्रममा वाचन हुनेछ ।
कार्यक्रममा डा. रूपक श्रेष्ठ, नारायण गाउँले, नृपेश उप्रेतीलगायतका केही स्थानीय गजलकारले पनि गजलवाचन गर्नेछन् । प्रसिद्ध गायिका शर्मिला बर्देवा र गायक प्रमोद राज न्यौपानेले गजल-गायनसमेत प्रस्तुत गर्नेछन् ।

बेलुका चार बजेबाट सुरु हुने उक्त गजलसाँझको प्रमुख आतिथ्य बेलायतका निम्ति नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) को रहनेछ भने समाजका प्रतिष्ठित व्यक्तिहरूको श्रोताका रूपमा उपस्थिति रहने विश्वास गरिएको छ । कार्यक्रमको प्रवेश शुल्क १५ पाउण्ड राखिएको छ ।

कार्यक्रमका लागि शिक्षाकर्मी एवं समाजसेवी कृष्ण भट्टको संयोजकत्वमा नारायण गाउँले, नृपेश उप्रेती, लक्ष्मी ‘लारा’ राई र कृष्ण तिवारी सम्मिलित एउटा आयोजक समिति गठन गरिएको छ ।

समय मिलेसम्म कार्यक्रममा उपस्थित भएर मनोरञ्जनका साथ साहित्यको सम्बर्द्धनमा योगदान पुऱ्याउन बेलायतवासी नेपालीलाई आयोजक समितिले आग्रह गरेको छ ।