१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कार्यदल गठन गर्ने निर्णयको एनआरएनद्वारा स्वागत

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७५, शुक्रबार १५:५३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने निर्णयको गैरआवासीय नेपाली संघ स्वागत गरेको छ । संघले सरकारको यो निर्णयलाई महत्वपूर्ण कदम भनेको छ । कार्यदल गठनका लागि मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिकाप्रति संघले आभारसमेत प्रकट गरेको छ ।

संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि पहल गरेको थियो । संघ र कर्मचारी सञ्चय कोषबीच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै समझदारी पत्रमा भएका सर्त तथा अवस्थालाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको छ ।

संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चयकोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयार गरिएको थियो । गैरआवासीय नेपाली संघले पटक पटक गरेको पहल अनुरुप आएको मन्त्रालयको यस कार्यदल गठन गर्ने निर्णयबाट निकै उत्साह मिलेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हजारे अभियानको नाममा गैरआवासीय नेपाली संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तदारुकताका साथ निकट भविष्यमा कार्यन्वयनमा ल्याउने अपेक्षा हामीले गरेकाछौ । यस कदमले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको प्रत्याभूती गर्नुका साथै कामदारहरुको बचतको बानी बसाल्नेछ । यस कोषमा गरिएको बचत मार्फत कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन र साथै देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्दछ, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष भवन भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशी नियोग मार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेश स्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकाय बीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएकोमा संघ सरकार प्रति हार्दिक आभार प्रकट गर्दछ ।

छोटो समयमा नै वैदेशिक रोजगारको क्षेत्रको सुधारका लागि नेपाल सरकारबाट पछिल्लो समयमा भएका विभिन्न महत्वपूर्ण निर्णयले विदेशमा रहेका नेपाली कामदारहरुलाई निकै उत्साह मिलेको छ । गैरआवसीयनेपाली संघ यसप्रकारको महत्वपूर्ण कदमहरुको सधैं स्वागत गर्दछ र आवश्यक क्षेत्रहरुमा सहयोग र सहकार्यका लागि प्रतिवद्धता प्रकट गर्दछ ।’