८ बैशाख २०८१, शनिबार
Follow Us

सिभिल इञ्जिनीयरिङ शुरु गर्न दशैं महोत्सव

sarusaru
३ भाद्र २०७५, आईतवार ०८:०८

नुवाकोट – जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ ।

विदुर–१स्थित विद्यालयले शुरु गर्न लागेको इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गर्नका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो ।
विद्यालयलाई आफ्नै स्रोतबाट नयाँ विषयको पठनपाठन सञ्चालन गर्न कठिनाई भएकाले दशैं महोत्सव गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर खड्गीले बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकाले यसै वर्षदेखि पढाइ शुरु गरिएको विद्यालयका अध्यक्ष प्रधानले बताउनुभयो । एक शैक्षिक सत्रमा ४८ विद्यार्थीले पढ्न पाउने छन् ।
इञ्जिनीयरिङ विषय पढ्नका लागि विद्यार्थीलाई विगतमा अन्यत्र जानुपरेकाले अहिले जिल्लामै सञ्चालन भएपछि सहज भएको प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो । छ सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी रु २ लाख मात्र शुल्क लिइने विद्यालयले जनाएको छ ।
सिभिल इञ्जिनीयरिङ कक्षाको पठनपाठनका लागि छुट्टै ब्लक निर्माणका साथ आवश्यक भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । विसं २००७ सालमा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो ।
रासस