६ बैशाख २०८१, बिहीबार
Follow Us

युवतिको विभत्स हत्या

sarusaru
३ भाद्र २०७५, आईतवार ०८:२०

काठमाडौं । आफूलाई ‘इग्नोर’ गरेको भन्दै मोरङको बिराटनगरमा एक युवकले २३ वर्षीय युवतीको हत्या गरेका छन् ।

बिराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले २३ वर्षीय सिखा घिमिरेको हत्या गरेका हुन् । अष्ट्रेलिया जाने प्रक्रियामा रहेका उनीहरुले केही महिनाअघि ‘कोर्ट म्यारिज’ गरेको परिवारिक स्रोत बताउँछ ।

तर, घिमिरेले आफूलाई वास्ता नगरेको आशंकामा युवकले शुक्रबार दाउ र छुरी प्रहार गरी विभत्स हत्या गरेको प्रहरीको दाबी छ ।

‘बिराटनगर–१३ बाट को १७ प १७२३ नम्बरको स्कुटीमा ग्रामथान गाउँपालिका–३, सिद्राहासम्म ल्याएर गाइगोठमा गफ गर्दागर्दै भट्टराईले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ’, जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले भने, ‘युवकलाई नियन्त्रणमा लिएका छौं ।’

मोरङ प्रहरीका अनुसार घटना भएको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय, हरौचा र इलाका प्रहरी कार्यालय, बेलबारीबाट प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा प्रहरी टोली अनुसन्धानका लागि खटिएको थियो ।

प्रहरी निरीक्षक राईका अनुसार अनुसन्धानका क्रममा भट्टराईले डिप्रेसनको औषध प्रयोग गरिरहेको समेत खुलेको छ । ‘थप अनुसन्धान जारी छ’, राईले अनलाइनखबरसँग भने ।

भट्टराईमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को ज्यान सम्बन्धी कसुर अन्तरगत कारबाही हुनेछ ।
अनलाइन खबर