१३ बैशाख २०८१, बिहीबार
Follow Us

गैरआवासीय नेपाली संघ फिन्ल्याण्डद्वारा परोपकारी दौड प्रतियोगिता

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७५, आईतवार १९:२५

गैरआवासीय नेपाली संघ फिनल्याण्डले सन् २०१३ देखि हरेका बर्ष आयोजना गर्दै आएको परोपकारी दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरेको छ । नेपाल सरकारले सुरु गरेको शिक्षामा अभिभाकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्धेश्यले यस वर्ष यो प्रतियोगिताको आयोजना गरिएको हो ।

राजधानी हेलसिन्कि स्थित माल्मी एयरपोर्टमा सम्पन्न प्रतियोगिताबाट ९ हजार यूरो भन्दा बढी रकम संकलन भएको जानकारी प्राप्त भएको छ । संकलित रकम विविध कारणले विद्यालय शिक्षाबाट बञ्चित नेपालका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्नका लागि खर्च गरिने एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष गौतमका अनुसार सहयोग प्रदान गरिने क्षेत्र पहिचानका लागि नेपाल सरकार शिक्षा मन्त्रालयसंग आवाश्यक तथ्यांकको लागि अनुरोध गरिएको र तथ्यांक प्राप्त हुनासाथ कुनै एक क्षेत्रमा विद्यालय शिक्षाबाट बञ्चित वालबालिकाहरुलाई विद्यालय पठाउने कार्यका लागि संकलित सहयोग रकम खर्च गरिनेछ ।

उक्त दौड प्रतियोगिताका लागि विभिन्न उमेर भएका समूहहरु बिच प्रतिस्पर्धा गराईएको थियो । प्रत्येक उमेर समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हांसिल गर्ने प्रतियोगीहरुलाई मेडल र प्रमाणपत्रका साथै अन्य सबै प्रतियोगितामा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।