१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अनुगमन रोक्न मूलगेटमा तालाबन्दी

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७५, सोमबार ०७:०२

काठमाडौं । कालिमाटी तरकारी बजारका ब्यापारीले सरकारी अनुगमन टोलीलाई अवरोधको प्रयास गरेका छन । अनुगमन टोलीले आज विहान तरकारी बोकेका दुईवटा ट्रक र चालकलाई पक्राउ गरेपछि व्यापारीले अवरोधको प्रयास गरेका हुन् । विना जानकारी अनुगमन गरेको भन्दै ब्यापारीहरुले अवरोधको प्रयास गरेपछि कालिमाटि तरकारी बजार तनावग्रस्त भएको छ ।

अनुगमन टोलीले बिल विना काठमाडौं भित्रिएको ना ४ च छैसट्ठी चौतिस नम्बरको तरकारी बोकेको ट्रक र चालक सुदिप दराईलाई नियन्त्रणमा लिएको थियो । अनुगमनकै क्रममा बा ६ च ९ सय ६४ नम्बर ट्रकका चालक कर्मा तामाङ फरार भएपछि विवाद भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकमा तरकारी ल्याउने धनी फेला नपरेको, तरकारी ल्याएको स्थान पनि नखुलेको र विल पनि नभएको भन्दै अनुगमन टोलीले दुबै ट्रक नियन्त्रणमा लिएको छ । अनुगमनको विरोध गर्दै नियन्त्रणमा लिइएको ट्रक बजारबाट बाहिर लैजान स्थानीय ब्यवसायीले अवरोध गरेका छन् । व्यापारीहरुले बजारको मुलगेटमा ताला लगाएर प्रदर्शन गरेका छन् ।

व्यापारीको अवरोध र प्रदर्शनपछि तरकारी बजारमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । किसानले विक्री गरेको भन्दा तीन गुणा बढि मुल्य लिएर तरकारी बिक्री हुने गरेको भेटिएपछि आपूर्ति मन्त्रालयको अगुवाईमा स्थलगत अनुगमन गरिएको हो ।