१५ बैशाख २०८१, शनिबार
Follow Us

फ्यानहरु भेट्न ढोकामा कुरेर बस्थे

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७५, सोमबार १३:५४

मन्दिरा ढुंगेल, रेडियोकर्मी
पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवले रेडियो सुन्ने चलन निकै घटेको छ । तर, कुनै जमाना थियो, जो रेडियो सुनेर सुखद् भविष्यको सपना बुन्थे, कल्पनामा रमाउँथे । स्रोतालाई कल्पनामा रमाउन बाध्य बनाउनेमध्येकी एक हुन् मन्दिरा ढुंगेल । उनको पे्ररणादायी प्रस्तुति सुनेर धेरैको भविष्यले युटर्न लिएको छ । अहिले पनि उनको मीठो स्वरमा मोहित नहुने थोरै होलान् । रेडियोप्रतिको उनको लगाव, स्रोता आकर्षित गर्ने उनको क्षमताबारे मन्दिरासँग कुमार राउतले गरेको कुराकानी :

० कति भयो रेडियोमा कार्यक्रम सञ्चालन गर्नुभएको ?
– हिट्स एफएममा २१ वर्ष काम गरें, रेडियोसँगको मेरो नाता अहिले पनि अटुट छ । स्रोतालाई मनोरञ्जनसँगै सामाजिक दायित्व र सकारात्मक सन्देश दिन अहिले पनि छोडेको छैन । रेडियो कार्यक्रम सञ्चालनसँगै राग स्टुडियो सञ्चालन गरिरहेकी छु । यो चाहिँ मेरो नयाँ काम हो ।

० राग स्टुडियोले के गर्छ ?
– हामी गीत उत्पादन गर्छौं, विज्ञापनको जिंगल बन्छ, एचडी क्वालिटीको हो । नेपालमा सम्भवतः यस्तो स्टुडियो हातमा गनिने मात्र छन् । मैले आशीष अविरलसँग मिलेर सञ्चालन गरेकी हुँ । उहाँ चाहिँ संगीतकार हुनुहुन्छ ।

० रेडियोसँगको यो नाता कसरी जोडियो ?
– रहर हो । ४५ सालको भूकम्प बिहानीको समयमा गएको थियो । भूकम्प गएपछि घरबाट सबै बाहिर निस्के । त्यो झिसमिसेमा बाहिर निस्कँदा रेडियो मेरो साथमै थियो । अर्थात् म रेडियोलाई धेरै माया गर्थें ।

० रेडियोमा बज्ने के कुराबाट बढी प्रभावित हुनुहुन्थ्यो ?
– फर्माइसी गीत, पे्ररणदायी अन्तर्वार्तालगायत रेडियोले बोल्ने सबै कुरा मन पथ्र्यो ।

० त्यसबेला के कल्पना गर्नुहुन्थ्यो ?
– आफू पनि त्यसरी नै रेडियोमा बोल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । कसैको अन्तर्वार्ता सुन्दा म ठूलो मान्छे भएर त्यसरी अन्तर्वार्ता दिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

० ठूलो मान्छे हुनुभयो ?
– भएँ, त्यही भएर तपाईं अन्तर्वार्ता लिन आउनुभयो ।

० रेडियोमा इन्ट्री कसरी हुनुभयो ?
– हिट्सले रेडियो नेपालको एफएमको समय किनेको थियो । अनुप शिवाकोटीसँग मिलेर मैले दुईवटा कार्यक्रम सञ्चालन गर्थे । हिन्दी र पुराना गीत बज्थे । अनुपले जिस्काउने र मैले हाँस्नुपर्ने कार्यक्रमको ट्रेडमार्क नै बनेको थियो । पछि हिट्सको आफ्नै रेडियो भएपछि मैले युवा पिँढीमा लक्षित कार्यक्रम सञ्चालन गरें ।

० त्यहीबाट लोकप्रियता सुरु भयो ?
– त्यो कुरा त मलाई थाहा भएन । तर अहिलेजस्तो युट्युब र सामाजिक सञ्जाल त्यसबेला थिएन । रेडियो सुन्नु र टेलिभिजन हेर्नुको विकल्प हुँदैन थियो ।

० फ्यान कति थिए ?
– भेट्न ढोकामा कुरेर बस्थे, चिठीचपेटाका चाङ लाग्थ्यो । केही यस्ता घटना पनि थिए, जुन मेरो मानसपटलमा अझै ताजै छ । मेरै पे्ररणाले वसन्तराज अज्ञात, ललिता कुँवरहरू राम्रो लेखक बनेका छन् भने शिक्षालगायत विभिन्न क्षेत्रमा प्रगति गरेका उदाहरण प्रशस्त छन् ।

० दुई दशक रेडियोमा कसरी बित्यो ?
– म यसलाई दैनिकीसँग दाँजेर हेर्छु । हामी दैनिक खाना पकाउँछौं, त्यसका लागि सामग्री जोड्ने, पकाउने, खाने गरिन्छ । कहिले मीठा हुन्छ, कहिले हुँदैन । त्यसैगरी, रेडियोमा मैले कार्यक्रम निर्माण, प्रसारण गर्दागर्दै दुई दशक बिताएछु ।

० के पाउनुभो ?
– त्यसबाट केही कमाए होला र त तपाईं मलाई खोज्दै आउनुभयो । नराम्रो केही गरेको छैन, राम्रै गरे भन्न लाग्छ । रहर पाल्नुभन्दा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो, त्यो मेरो रहरलाई फल्ने फुल्ने अवसर हिट्सले दियो ।

० रहर पूरा गर्ने प्लेटफर्म पाउनुभयो ?
– जसरी अर्थ लगाए पनि भयो, रहर हराउन दिनु हुँदैन, त्यसका लागि समर्पण पनि चाहिन्छ ।

० अहिले आफ्नै रेडियो सञ्चालनको तयारीमा हुनुहुन्छ ?
– ती कुराहरू सबै तयार भइनसकेकाले अहिले केही नभनौं । समय आएपछि त्यसबारे भनौंला ।

० रागा स्टुडियो चाहिँ सञ्चालनमा छ ?
– हो, त्यो पनि धेरै समय भएको छैन । नयाँ कार्यक्रम गर्ने तयारीमा छौं । केही यस्ता गीत रेकर्ड भएका छन्, जुन थोरै समयमा चर्चित भए । जस्तो, टीका प्रसाईको माया लुकीलुकी, शिव परियारको हल्लैहल्ला भन्ने गीत यतिबेला खुबै चलेका छन् ।

० धेरै मेहनत गर्नुहुन्छ ?
– हरेक काममा मेहनत चाहिन्छ । अझ हाम्रो पेसामा सचेतना, पे्रम र दायित्व पनि त्यत्तिकै हुन्छ । यी समर्पणबाट उत्पादन भएको वस्तु स्रोताले लिइदिए भने समय बितेको पत्तै हुँदो रहेनछ ।

० एउटै काममा समर्पित हुन परिवारको पनि सहयोग चाहिएला नि ?
– परिवारको मात्र होइन, सबैको सहयोग चाहिन्छ । सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ, समयसँगै हामी निरन्तर अघि बढिरहेका हुन्छौं ।

० परिवारको सहयोग छ त ?
– सबै कुरा समझदारीमा चल्ने हो । व्यक्तिको इच्छा र उद्देश्य बुझिसकेपछि सहयोग पाइन्छ । सबैभन्दा पहिले मन मिल्नुपर्छ । मन मिल्यो भने सबै कुरा राम्रो हुँदै जान्छ, यदि मन मिलेन भने त्यहाँ केही हुँदैन ।

० विभेदको महसुस भएन ?
– अहिलेसम्म त्यस्ता कुरा थाहा छैन, घरमा एउटा सानी बच्ची हुर्कंदै छिन्, उनलाई र मलाई फरक व्यवहार हुँदैन । अहिलेसम्म विभेद शब्द मात्र सुनेकी छु, व्यवहार कस्तो हुन्छ थाहा छैन । घर पुग्दा रमाइलो महसुस हुन्छ ।

० रमाइलो महसुसका लागि के कुराले भूमिका खेल्छ ?
– अगाडि चौरासी ब्यञ्जन राखिदिएको छ, मनमा अनेक कुरा खेलेका छन् भने त्यो भोजनको कुनै अर्थ हुँदैन । ढिँडो पिठो नै किन नहोस्, मन हाँसिखुसी छ भने त्यो त्यसै मीठो हुन्छ । बुझ्नुपर्ने कुरा खानाको मस्ती लिनुभन्दा अगाडि समस्या कहाँ जेलिएको छ, त्यो पत्ता लगाउनुपर्छ ।

० अहिलेसम्मको उपलब्धि ?
– खुसी बाँड्ने हो, लिएर के जानु छ र ?