१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महिला नेतृत्वको अवस्था र भावी रणनीति विषयक कार्यशाला सम्पन्न

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७५, सोमबार १३:५९

काठमाडौं । राजनीतिक दल भित्र महिला नेतृत्व वर्गहरुको अवस्था र भावी रणनीति विषयक २ दिने कार्यशाला समापन भएको छ । दुई दिने उक्त कार्यशाला गोष्ठीमा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा नेता सिटौलाले महिलाहरुको वर्तमान अवस्थिति र भावी रणनीति विषयक कार्यक्रमले महिलाहरुलाई जागरुक बनाउन अझ थप प्रेरणा मिल्ने बताउनु भयो ।

उहाँलेले भन्नु भयो, महिलाहरु सक्षम र निडर छन्, राज्यको तह र तप्कामा उनीहरुको उपस्थिति न्युन छ यसकारण यस कार्यक्रमले विशुद्ध पनि महिलाहरुलाई सशक्त बनाउन अझबढी थप अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु । यो कार्यक्रमले पक्कै पनि नेतृत्व वर्गहरुलाई आगामी दिनमा उचाईमा पुर्याउन आवश्यक पहलगामी कदम चाल्नेमा पनि ढुक्क भएको छु र यो कार्यक्रम सञ्चालन गर्न आवश्यक पनि छ । उहाँले थप भन्नुभयो, महिलाहरुको राजनीतिक क्षेत्रका साथै, अन्य कुटनीतिक नियोग, सरकारी कार्यक्षेत्रका लगायतका क्षेत्रमा उपस्थिति न्युन हुनाले पनि महिला आज सम्म पीछडिएका छन् तर वर्तमान परिप्रेक्ष्यमा यस आँकडालाई कम गर्न पार्टीमा देखिएका कमी कमजोरीलाई हटाउन आवश्यक कदम चाल्न म सदैव तत्पर रहनेछु र आशा छ यहाँहरुले पनि साथ दिनुहुनेछ ।

पहिलो दिनको सत्रमा कार्यक्रमकी प्रशिक्षक डा. विन्दा पोखरेलले सहभागीहरुसँग प्रशिक्षण सहित अन्तरक्रियाया गर्नुभयो। राजनीतिमा महिलाको पहुँच, राजनीतिमा होमिनु पूर्व र होमिईसकेपछिका अवसर र चुनौतिबारे पनि जानकारी गराउनुभयो । विशेषतः राजनीतिक दल भित्र महिला नेतृत्व वर्गको अवस्थाका बारेमा महिला पुरुष दुवैलाई सँगै प्रशिक्षण दिनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले थप भन्नुभयो, यहाँहरु सबैले उठाउनु भएका समस्याहरुको समाधानका निमित्त आफू पनि पूर्ण रुपमा सक्षम निडर बनी सोको वकालत गर्न पार्टी समक्ष निरन्तर रुपमा अग्रसर हुनुपर्छ । उहाँले भन्नुभयो, आफू भित्र देखिएका कमजोरीलाई प्रष्ट्याई त्यसलाई सच्याएर आगामी दिनमा आफ्नो बल बनाउन पनि सुझाव दिनुभयो ।

कार्यक्रममा दोस्रो दिनको प्रशिक्षण सम्हाल्नु भएकी डा. माधवी भट्टले राजनीतिक दल भित्र महिला नेतृत्वको अवस्था र भावी रणनीति विषयमा थप उजागर गर्दै सो भित्र देखिएका बेथिति माथि प्रकाश पार्नुभयो । उहाँले, विश्वमा महिला नेतृत्वले वहन गरेका सामाजिक, साँस्कृतिक, आर्थिक पक्षको विषय वस्तु सहित आत्मनिर्भरबा सबालमा सिक्ने र सिकाउने प्रवृत्तिको थालनी नभएसम्म महिलाहरुको उपस्थिति न्युन नै रहने बताउनुभयो । राज्यको निकायमा पुरुष असक्षम भएपछि मात्रै महिलाले स्थान पाउने प्रवृत्तिमा प्रष्ट्याउनु भयो । कार्यक्रममा उहाँले सहभागीहरुलाई अन्तक्रिया गराउँदै विषयमा प्रवेश गराउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सभाकी माननीय सांसद एवं नेपाल महिला संघकी महासचिव धना खतिवडाले वर्तमान अवस्थामा महिलाहरुमा देखिएका समस्यालाई सुल्झाउन थप अभिमुखीकरण तालिम सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, अवश्य ने कमी कमजोरी भएकै हो, चाहे पार्टीमा होस् या सरकारमा, या सदनमा महिलाहरुको नेतृत्वको सवालमा पर्याप्त वहस नहुनु पनि दुःखद् छ । महिला भित्र देखिएका विद्यमान चुनौतिहरुलाई समाधान गर्न नेपाल महिला संघ तत्पर रहने पनि बताउनु भयो । उहाँले अन्त्यमा, सक्षम नेतृत्वको लागि कार्यक्रम सञ्चालन गरेकोमा आयोजक संस्थालाई धन्यवाद प्रदान गर्नु भयो ।

कार्यक्रमकी सभापतित्व गर्नुभएकी, आयोजक संस्था महिला उत्थान केन्द्रकी अध्यक्ष लिला नेपालले कार्यक्रम अपरिहार्य रहेको र यस कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धि गर्न सघाउ पुगेको बताउनु भयो । उहाँले भन्नु भयो, महिलाहरु घरको चुल्हो चौकामा सिमित रहने परिपाटीको अन्त्यको थालनी हामी आफैँबाट सुरुवात हुनुपर्छ । सक्षम निडर र प्रतिवद्ध नेतृत्वको लागि कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका माननीय सांसद धना खतिवडा सहित, नेपाल महिला संघका केन्द्रिय सदस्यज्यूहरु, प्रदेश सभा सदस्यः जीवन डंगोल, रजनी अमात्य लगायत सदस्यज्यूहरु, नेपाल विद्यार्थी संघका पूर्व सह महामन्त्री बल्देव तिमल्सिना, नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य सिर्जना अधिकारी, प्रदेश नं. ३ स्तरीय नेपाल महिला संघ जिल्लाका सभापतिज्यूहरु, क्षेत्रीय सभापतिज्यूहरु, कांग्रेस महासमिति सदस्यज्यूहरु, कांग्रेस महाधिवेशन प्रतिनिधिज्यूहरु, महिला नेतृ गिता नेपाल, अनेमसंघ क्रान्तिकारीकी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष अम्बिका नेपाल, अनेमसंघ क्रान्तिकारीकी सिन्धुपाल्चोक जिल्लाकी अमृता नेपाल लगायतको उपस्थिति रहेको थियो ।