७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा को को छानिए ‘प्रतिभा नक्षेत्र’?

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७५, सोमबार २३:०७

लण्डन । लण्डनमा आयोजना भएको प्रतिभा नक्षेत्रको दोस्रो संस्करण आइतबार लण्डनमा सम्पन्न भएको छ । प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रमबाट बाल तथा युवाका छुट्टाछुट्टै विधामा विजेताहरुलाई पुरस्कृत गरियो । लण्डनसहित आसपासपासका विभिन्न क्षेत्र र स्कटल्याण्डबाट समेत गरी बाल समुहमा १६ र युवामा १० प्रतियोगी सहभागी थिए ।

जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया श्रीद्धिका थापा क्षेत्री बाल नक्षेत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षेत्र बनिन् ।

बाल समुहमा सास्रिक कार्की रनर अप र रिया गिरी दोस्रो रनर अप भए । युवातर्फ सुभेच्छा भारती मगर दोस्रो र रितिका श्रेष्ठले तेस्रो स्थान प्राप्त गर्न सफल भए ।

युवा नक्षेत्रका रुपमा विजेताले ५ सय तथा दोस्रो र तेस्रो हुनेले ३ सय र २ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

बाल समुहका विजेताहरु क्रमशः ३ सय, २ सय र १ सय पाउण्ड नगद सहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत बने ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनसहित पुरस्कारको स्पोन्सर गर्ने बुद्ध फाउण्डेसन अध्यक्ष दिपक श्रेष्ठ, व्यवसायी दिपक थापा, संगीता भारती मगर, अनु श्रेष्ठ, जमघट परिवारका तीर्थबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोहि अवसरमा एनआरएन यूकेका तर्फबाट ९ सय पाउण्डको सहयोग चेक अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष ललितकुमार न्यौपाने , उपमहासचिव विनय अधिकारी , कोषाध्यक्ष सचिन श्रेष्ठ र जित रानाभाटले प्रतिभा नक्षेत्रलाई हस्तान्तरण गरेका थिए । यो सहयोग संकलनको संयोजन उपमहासचिव अधिकारीले गरेका थिए ।

यसअघि प्रतियोगिताको फाइनल राउण्डमा बाल तथा युवा प्रतियोगीहरुलाई फरक फरक राउण्डमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगीहरुले पहिलो चरणमा नेपाली गीत, नृत्य, कवितावाचन लगायतका आ आफ्ना प्रतिभाहरु देखाएका थिए । दोस्रो चरणमा नेपालसंग सम्बन्धित विभिन्न विषयमा निर्णायकहरुले सोधेका प्रश्नको उनीहरुले जवाफ दिएका थिए ।

प्रतियोगितामा गायिका मिरा राणा, निर्देशक सनमकुमार बैराग, साहित्यकार बासु शर्मा, नृत्य निर्देशक प्रभु गुरुंग र एभरेष्ट सुर्य बोहोराले निर्णायकको भुमिका निर्वाह गरेका थिए । आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुमा उपाध्यक्ष केशबहादुर आलेले स्वागत मन्तव्य राखेका थिए । प्रतिभा नक्षेत्रका संरक्षक मनिषकुमार श्रेष्ठ र परिकल्पनाकार राजेन्द्र खसले कार्यक्रमको लक्ष्य र पृष्ठभुमिबारे मन्तव्य दिएका थिए ।

महासचिव लक्ष्मण गुरुंगले पहिलो औपचारिक सत्र सञ्चालन गरेका थिए भने सुस्मिता थापाले प्रतियोगिताको सञ्चालन गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष सिम्मी पुनले सहभागी सबै प्रतियोगी , तीनका अभिभावक र सहयोगी सबैलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् ।