१३ बैशाख २०८१, बिहीबार
Follow Us

महेन्द्रनगरबासीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अश्रुग्याँस प्रहार, दुवैतर्फ केही घाइते

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७५, मंगलवार ०९:११

कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्यामा संग्लन अपराधीलाई प्रहरीले लुकाउन खोजेको भन्दै महेन्द्रनगरवासीले आज विरोध प्रदर्शन गरेका छन । नक्कली अभियुक्त सार्वजनिक गरेर प्रहरीलेवास्तविक दोषीलाई उन्मुक्ति दिन खोजेको उनीहरुको आरोप छ ।

प्रहरीले घटनाको २५ औँ दिन हिजो स्थानीय ४१ बर्षिय दिलीप सिंह बिष्टलाई घटनामा सग्लन भएको आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको थियो । पन्तको बलात्कार र हत्या घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठीक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको आरोप स्थानीयको छ ।

यसैबीच बजार बन्द गरेर प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दामाथि प्रहरीले बल प्रयोग गरेको छ । बजारमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न खोजेपछि स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको बल प्रयोगवाट केही प्रदर्शनकारी घाइते भएका छ । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर केही प्रहरीपनि घाइते भएका छन् । सोमबार पक्राउ परेका विष्टलाई प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरिसकेको छ ।

भीमदत्त नगरपालिका १९ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त साउन १० गते हराएकी थिईन् । भोलीपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । हत्यापछि दोषीलाई पक्राउ र कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै आएका छन।