१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन मध्यपूर्व क्षेत्रीय भेलाले श्रमिकका बारेमा ठोस निष्कर्ष निकाल्ने

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७५, मंगलवार १५:०९

काठमाडौं । गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय भेलाले श्रमिकका बारेमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । संघका प्रवक्ता भूषण घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा चुनौति र समस्यामा भेलाले गम्भीर छलफल गर्नेछ ।

‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार ‘ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नारासहित अगष्ट २३ देखि २५ तारिखसम्म युएईको दुबईमा छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकको आयोजना हुँदैछ । मर्यादित र सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउनु यस बैठकको मुख्य उद्देश्य रहेको प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बीस लाख भन्दा बढी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू श्रमिकका रुपमा यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । संख्यात्मक रुपमा सबैभन्दा धेरै नेपाली कार्यरत रहेका यस क्षेत्रका नेपालीहरुको समस्याहरु सम्बोधन गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य हो ।

नेपालमा भित्रने कुल रेमिट्यान्सको करीब ६० प्रतिशत मध्यपूर्वबाट नै आउँछ । तर त्यो क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरु विभिन्न अप्ठ्यारोमा पर्दा सहज सहयोग पाउने वातावरण बन्न सकेको छैन । मध्यपूर्वमा कार्यरत नेपालीहरु माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभाव लगायत विविध कारणले जेलजीवन बिताइरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको पीडा एकातिर छ भने अर्कोतर्फ काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएकाहरुको समस्या उस्तै छ । स्वास्थ्य तथा सुरक्षाका बारेमा चेतना नहुनाले कतिपयले अकालमा ज्यान गुमाउनु परेका यथार्थता सर्वविदितै छ । तसर्थ यी सबै पक्षमा बैठकले गम्भीरतापूर्वक छलफल गर्नेछ र त्यस्ता समस्या निराकरणका लागि सुझाव प्रस्ताव गर्नेछ ।

विदेशमा कडा परिश्रम गरेर विप्रेषण भित्याउनेहरुले सोचे जस्तो आम्दानी र बचत गर्न सकेका छैनन् । उनीहरुको आय मूल रुपमा अनुत्पादक उपभोगमा खर्च हुँदा भविष्य सुनिश्चित हुन सकेको छैन् । विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नेरगराउने वातावरण बन्न सकिरहेको छैन । यस विषयमा पनि बैठकमा छलफल गरिनेछ । साथै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जनचेतना वृद्धिका निम्ति गर्नुपर्ने कार्यहरु, विदेशमा सिकेका ज्ञान तथा सीप मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने पनि यस पटकको बैठकको छलफलको अर्को महत्वपूर्ण विषय हो ।

त्यसका साथै वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनरस्थापना र समायोजन, स्वास्थ सुरक्षा सम्बन्धी र आफुलाई अफ्ठ्यारो पर्दा कुन निकायमा कसरी सम्पर्क गर्ने भन्ने कुराको चेतना, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, हजारे अभियान, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण फ्रि–टिकट तथा भिषाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा समेत बैठकमा छलफल हुने छ ।

यस्तै विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, अनलाइन प्रणालीमार्फत विभिन्न निकायहरुलार्ई जोडी कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चयकोष जस्ता विषयमा बैठकले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । बैठकका निष्कर्षहरुलाई सरकारलगायत सम्बन्धित निकायहरु समक्ष पु¥याइनेछ’, विज्ञप्तिमा भनिएको छ ।