१३ बैशाख २०८१, बिहीबार
Follow Us

सबै चिकित्सकलाई एकसाथ लिएर अघि बढ्छु : अध्यक्ष श्रेष्ठ

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार ०५:५७

काठमाडौं । नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सम्पूर्ण चिकित्सकलाई एकसाथ लिएर स्वास्थ्य पेसा र सम्पूर्ण स्वास्थ्य क्षेत्रको विकासमा अघि बढ्ने बताउनुभएको छ ।

सोमबार निर्वाचन समितिले राखेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित डा अध्यक्ष श्रेष्ठले चिकित्सा क्षेत्र र पेसाकोे गरिमालाई अझ बढाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय चिकित्सा क्षेत्रमा विकृति बढेको र यसप्रतिको मर्यादा खस्कँदै गएको महसुस हुन थालेको छ । म हाम्रो पेसाप्रतिको खस्कँदो मर्यादालाई सुधार्ने प्रयासमा लाग्नेछु । अन्य विसङ्गति र विकृति हटाउँदै पेसागत हकहितका लागि सङ्घले नेतृत्वदायी भूमिका खेल्नेछ ।’’ उहाँले निर्वाचनमा पराजित भएका सबैलाई मिलाएर हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

सङ्घका वर्तमान अध्यक्ष डा अन्जनीकुमार झाले नयाँ कार्यसमितिले अघिल्लो कार्यासमितिले गर्न नसकेको देशभर कति चिकित्सक छन्, कति विशेषज्ञ चिकित्सक छन् भन्ने तथ्याङक सङ्कलन गर्ने कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ कार्यसमितिको काँधमा धेरै जिम्मेवारी आएको भन्दै चिकित्सकीय पेसाको हकहितका साथै डा केसीले उठाएका मुद्दाका विषयमा आफ्नो स्पष्ट धारणा बनाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वअध्यक्ष डा चोपलाल भुसालले पेसागत सङ्गठनमा चिकित्सक सङ्घ सबैभन्दा पुरानो सङ्गठन भएको उल्लेख गर्दै सङ्घले आमनागरिकलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो गहन जिम्मेवारी हो । मुलुकको स्वास्थ्य शिक्षामा प्रमुख भूमिका निर्वाह गर्न सक्नुपर्छ ।’’

अर्का पूर्वअध्यक्ष डा केदारनरसिहं केसीले मेडिकल क्षेत्रमा भएको विकृति–विसङ्गतिलाई सही मार्गनिर्देश गर्दै चिकित्सकको भ्रातृ संस्था भएकाले सबैलाई समेटेर लैजानुपर्ने धारणा राख्नुभयो ।
पेसागत समूहबाट निर्वाचित कोषाध्यक्ष डा रक्षा श्रेष्ठले चिकित्सक र चिकित्सा पेसाको हकहितका लागि मिलेर काम गर्ने बताउनुभयो । सङ्घको पद हस्तान्तरण आगामी नोभेम्बर महिनामा धरानमा हुने सङ्घले जनाएको छ ।