७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मला पन्त हत्या प्रकरण नयाँ मोडमा

sarusaru
६ भाद्र २०७५, बुधबार ०४:४४

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याकाण्डले नयाँ मोड लिएको छ ।

हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको साटो झन् उग्र बनेको हो ।

निर्मलाको बलात्कार पश्चात हत्या गरेको अभियोगमा प्रहरीले सोमवार भीमदत्त नगरपालिका–१९ का दिलिप बिष्टलाई सार्वजनिक गर्यो । तर, स्थानीयले घटनाको मुख्य दोषीलाई प्रहरीले संरक्षण गर्न मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन चर्काएका छन् ।

उनीहरुले ४१ वर्षीय आरोपित बिष्ट निर्दोश रहेको र वास्ताविक दोषीलाई प्रहरी संरक्षण गरिरहेको समेत आरोप लगाएका छन् ।

नागरिक संघर्ष समिति कञ्चनपुरकी अध्यक्ष मिना भण्डारीले भनिन्, ‘कञ्चनपुर प्रहरी र सिआईबीले यस्तो रिजल्ट दिन्छ भनेर हामीले सोचेका पनि थिएनौं । २६ दिनमा पागललाई सार्वजनिक गर्यो ।’

त्यस्तै उनले प्रहरीको अनुसन्धानमा विश्वसनीयता नभएको दाबी गर्दै नयाँ सिराबाट अनुसन्धान शुरु हुनुपर्ने माग राखिन् । मंगलवारको आन्दोलनले उग्र रुप लिएपछि नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रु ग्यास प्रहार गरेको छ ।
यसैबीच प्रहरीले अनुसन्धानको नाममा स्कूले बालबालिकाहरुलाई नियन्त्रणमा लिने, कुटपिट गर्ने जस्ता कार्य गर्न थालेको आरोप लागेको छ ।

स्थानीय माया नेगीका अनुसार प्रहरीले अनुसन्धानको नाममा निर्मला पन्तले अध्ययन गरेको महुलिया उल्टाखामस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर विभिन्न किसिमको यातना समेत दिने गरेको छ । जसले बालबालिकामा मनोवैज्ञानिक असर समेत पुगेको नेगीले बताइन् ।