८ बैशाख २०८१, शनिबार
Follow Us

‘सरकार सपना बाँड्नमै केन्द्रित भयो’

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७५, बुधबार १४:३२

बाँके । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाउनुभएको छ । “पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ”, महामन्त्री कोइरालाले भन्नुभयो ।

नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले आज नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार विकासमा भन्दा सपना बाँड्ने काममा केन्द्रित भएको छ, भन्नुभयो ।

“अत्यधिक मूल्य वृद्वि भइरहेको छ । जनताको ढाड सेक्ने काम कर वृद्धि गरिरहेको छ”, उहाँले भन्नुभयो, “कर नबढाउन काँग्रेसले जितेका स्थानीय तहमा हामीले निर्देशन गरिसकेका छौँ ।” काङ्ग्रेसले जितेका स्थानीय तहमा कर वृद्धि नगर्ने पार्टीको आधिकारिक धारणा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीभित्रको समस्याका बारेमा नीति र विधिअनुरुप पार्टी चल्न नसक्दा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विधि र विधानअनुसार चल्न सकेनौँ, जसका कारण हामीभित्र समस्या देखिएको छ । अब त्यो समाधानको बाटोउन्मुख भइसकेको छ ।”

प्रतिनिधिसभाका सांसद एवं पूर्वसिँचाइ मन्त्री सञ्जय गौतमले पार्टी र सङ्गठन विधिले चल्न नसक्दा पार्टीका तल्लो तहसम्मका संरचना कमजोर भएको भन्दै अब नीति र विधिलाई चुस्त बनाएर अघि बढ्ने बताउनुभयो । “हाम्रा संयन्त्रहरु कमजोर भएका छन्, पार्टीको महासमिति बैठक बोलाएर तत्काल समस्याको समाधानमा काङ्ग्रेस जानेछ ।” उहाँले भन्नुभयो ।