७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

sarusaru
७ भाद्र २०७५, बिहीबार ०२:११

रत्ननगर – यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिनुभयो ।

देशका विभिन्न जिल्लामा बलात्कारका अपराध बढेकाले समाजलाई सचेत बनाउँदै नीतिनिर्माण तहसम्मै घच्घच्याउन सामूहिक अभियान शुरु गरिएको उहाँकोे भनाइ थियो । चितवनमा पछिल्लो एक सातामै दुई बालिकालाई सामूहिक करणी गरेको घटना सार्वजनिक भएको छ ।

यस्ता घटना रोक्न जिल्लाका विभिन्न २५ भन्दा बढी सङ्घसंस्थाको सक्रियतामा उक्त अभियान थालिएको । अभियानअन्तर्गत गाउँगाउँमा पुगेर सचेत बनाउने, घटनाको तथ्याङ्क सङ्कलन गरिने, यौनजन्य हिंसा प्रभावितको अवस्था अध्ययन गरी लक्षित समुदायलाई नै जागरुक गराउने, न्यायमा पहुँच पु¥याउने, कानून कार्यान्वयनमा दबाब दिने, पीडकलाई कारवाहीको दायरामा ल्याइनेलगायत कार्यक्रम गरिनेछ ।

यस्ता घटनाको प्रतिकार गर्न सक्ने समुदाय निर्माण गर्ने र घटना न्यूनीकरणका उपाय खोजीका लागि जनप्रतिनिधिहरुसँग बसेर छलफल गर्नुका साथै विद्यालयमा पुगेरसमेत विद्यार्थी सचेतना कार्यक्रम चलाउनेसमेत अभियानको उद्देश्य रहेको कार्यक्रककी सह–संयोजक सङ्गीता भट्टराईले बताउनुभयो । हिंसामा परेकालाई आवश्यक सहयोग र कानूनी सहायताका लागि ‘हेल्प डेस्क’ नै स्थापना गरी न्यायालयसम्म पु¥याउने उहाँले जानकारी दिनुभयो । महिला बलात्कार हुनुमा मदिरा, लागुऔषध र सामाजिक सञ्जाल कारक रहेको भन्दै अभियन्ताहरुले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा चालू आवमा मात्रै ११ वटा बलात्कारका घटना भएको छ । गएको वर्ष ६६ यस्ता मुद्दा दर्ता भएका थिए ।
रासस