८ बैशाख २०८१, शनिबार
Follow Us

राजमार्ग बन्द हुँदा राजश्व सङ्कलनमा असर

sarusaru
७ भाद्र २०७५, बिहीबार ०६:४०

रसुवा – अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ ।

अवरुद्ध राजमार्ग चालु गराइ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन सडक सञ्चालन गर्नु आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनःनिर्माणका लागि नेपाली सेना परिचालन गर्न मन्त्रालयमार्फत् प्रक्रिया अगाडि बढिसकेकाले अबको एक÷दुई दिनभित्रै राजमार्गको पहिरो व्यवस्थापन गरी सवारी साधान सञ्चालन गर्न नेपाली सेना कालिप्रसाद इञ्जिनीयरिङ गणले स्थलगत निरीक्षणसमेत गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
अबिरल वर्षाले रसुवागढी, धुञ्चे–भार्खुबीचको त्रिशुली नदी छेउका दुई स्थानमा पहिरा गएका कारण नेपाल–चीन सिधा सम्पर्क टुटेपछि तीजपर्व लागि ल्याइएका सौन्दर्यका सामाग्रीसमेत रोकिएको एकता व्यापार सङघले जनाएको छ । सडक बन्द हुँदा नेपाली व्यवसायीले झिकाएका साम्रगीले आफ्नो गोदाम भरिसकेको चिनियाँ सामान ढुवानी गर्ने केरुङ क्षेत्रको सबैभन्दा ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सर्पोटले जनाएको छ ।

सडक अवरुद्ध भएपछि भन्सार शुल्क समेत प्रभावित भएको बताउँदै प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले साउन १० गतेयता करिव रु ४८ करोड राजश्व सङ्कलनमा असर परेको बताउनुभयो । साउन ११ गतेको अबिरल वर्षाले क्षति पुगेको टिमुरे र रसुवागढी बीच घट्टेखोलाको पक्की पुल मर्मत ४५ प्रतिशत पूरा भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

अर्बौका सामान रोकिँदा आफ्ना व्यवसायीलाई ठूलो मर्का परेको र विभिन्न चाडपर्वसमेत नजिकिँदै गरेकोले छिटोभन्दा छिटो राजमार्ग चालु गराउन आग्रह गरिएको उक्त सङ्घका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताउनुभयो ।

अवरुद्ध सडक छिटो खोल्न आफूले प्रयास जारी राखेको बताउँदै सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले विष्फोटक पदार्थ प्रयोगका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको र सेनाको नीति निर्माण तहबाट ठोस जवाफ नआउँदा सडक खोल्ने काम केही दिन ढिलाइ भएकाले सेनालाई विशेष निर्देशनका लागि रक्षा मन्त्रालयमा अनुरोधसमेत गरिरहेको बताउनुभयो ।
रासस