११ बैशाख २०८१, मंगलवार
Follow Us

कञ्चनपुरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीद्वारा गोली प्रहार, ४ गम्भीर घाइते

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७५, बिहीबार ०९:४६

काठमाडौं । निर्मला पन्त हत्याका वास्तविक दोषीलाई उम्काउन खोजिएको भन्दै कञ्चनपुरको भिमदत्त नगरमा भएको प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गोलीबाट चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको महाकाली अन्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले सोमबार निर्मलाको बलात्कारपछि हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त १९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । त्यसलगत्तै स्थानीयले दिलिप वास्तविक हत्यारा नभएको र प्रहरीले पीडकलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रदर्शन तिब्र बनाएका छन् ।

मंगलबार र बुधबार स्थानीयले बजार तथा स्कुल कलेज समेत बन्द गरेर प्रदर्शन गरेका थिए । उनीहरुले आज विहानैदेखि पुन प्रदर्शनलाई निरन्तरता दिएका हुन । आन्दोलित स्थानीयले बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, राजमार्ग नजिक रहेको ट्राफिक पोष्ट र दशरथचन्द चोक लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनरत स्थानीयले घटनाको पुन छानविन र अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका छन् । मंगलबार र बुधबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास प्रहार गर्दा केही प्रदर्शनकारी समेत घाइते भएका थिए । भीमदत्तर दुई की निर्मला ११ साउनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेकी थिइन् ।

पन्तको बलात्कारपछि हत्याको वास्तविकता सार्वजनिक गर्न माग गर्दै तीन सातादेखि महेन्द्रनगरमा प्रदर्शन जारी छ । दुई दिन अघि प्रहरीले घटनाका आरोपी भनेर मानसिक सन्तुलन ठिक नभएका मानिस सार्वजनिक गरेपछि प्रदर्शन झनै उग्र बनेको छ ।