१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन दिनदेखि तनावग्रस्त महेन्द्रनगरको अवस्था सामान्य

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७५, शुक्रबार ०६:३१

कन्चनपुर । तीन दिनदेखि तनावग्रस्त भएको महेन्द्रनगरको अवस्था शुक्रबार केही सामान्य बनेको छ । स्थानीयको माग अनुसार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य बनेको हो । तीन दिनदेखि ठप्प रहेको यातायात सेवा शुक्रबार बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका छन् ।

तर, स्थानीय प्रशासनले भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । यता, प्रहरीको दमन विरुद्ध ऐक्यबद्धता जनाउदै एकदिनका लागि विद्यायल बन्द गरिएको छ । निर्मला पन्तको हत्या प्रकरणमा भैरहेको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले बन्दको घोषणा गरेका हुन् ।

बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये सन्तोष कुमार कठरियाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै घाइते अन्य दुईजना अर्जुन भण्डारा र तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । अर्जुनको कोहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।