७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको दशौं वार्षिकोत्सव भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७५, शनिबार ०८:५६

लण्डन । नेप्लिज नर्सिङ्ग एशोसिएसन यूकेले आफ्नो दशौं वार्षिकोत्सव एक विशेष समारोहको आयोजना गरी मनाएको छ । एशोसिएसनले जुम्लाको पथरखोलामा निर्माण गरिरहेको मातृशिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो ।

पश्चिम लण्डनको हन्स्लोस्थित प्याराडाइज ब्यांकेटिग हलमा आयोजित समारोहको अध्यक्षता एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले गरेकी थिइन् ।

नर्सहरुले कसरी बिरामीहरुको सेवा गर्छन् भन्ने देखाउन एक नाटकीय विम्ब प्रस्तुत गर्दै नौलो शैलीमा शुभारम्भ गरिएको कार्यक्रममा एशोसिएसनका सदस्यहरुले सामुहिक रुपमा दशौं वार्षिकोत्सवको केट काटेका थिए ।

एशोसिएसन अध्यक्ष प्रसुना कंडेल र कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

अध्यक्ष कंडेल, कार्यक्रमका विशेष अतिथी रोयल कलेज अफ नर्सिङ्गका डेपुटी प्रेसिडेण्ट प्रो. रड थम्पसन र अल पाकिस्तानी नर्सिङ्ग एशोसिएसनकी अध्यक्ष जेबा आरिफले एशोसिएसनको स्मारिका विमोचन गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी , बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका सयौं नेपाली संघसंस्थाहरुमध्ये नर्सिङ्ग एशोसिएसन एक उत्कृष्ट संस्थाका रुपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरे ।

स्थापनापछिका १० वर्षको अवधिमा एशोसिएसनले नेपाल र नेपालीहरुको सेवामा ठूलो योगदान गरेको उनले बताए ।

‘तपाईहरुले विगतका १० वर्षसम्म जसरी आपसी एकता र सहकार्यबाट संस्थालाई यहांसम्म ल्याइपुर्याउनुभयो , आगामी दिनहरुमा आफ्नो पेशागत धर्म र कर्मलाई बचाउंदै सिंगो समुदायलाई यसरी नै फराकिलो बाटोतर्फ मार्गनिर्देशित गर्दै जानुहोस्’, डा सुवेदीले सुझाव दिए ।

नेपालीहरुको सेवाका लागि जुटिरहेका नर्सहरुलाई सहयोग र साथ दिनु सिंगो समुदायको कर्तव्य रहेको भन्दै उनले त्यसका लागि आग्रह पनि गरे ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले मानवीय सेवाको भावले नर्सिङ्ग एशोसिएसनले सञ्चालन गरेको कार्यक्रमहरुप्रति ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

रोयल कलेज अफ नर्सिङ्गका डेपुटी प्रेसिडेन्ट रड थम्पसनले नेप्लिज नर्सिंग एशोसिएसनले गरिरहेका कार्यहरुको प्रशंसा गर्दै सहकार्यका लागि आफुहरु सधै तयार रहेको धारणा व्यक्त गरे ।
नेप्लिज डक्टर्स एशोसिएसन यूके अध्यक्ष डा सविन जोशीले नर्सिङ्ग एशोसिएसनबाटै प्रेरित भएर अब डक्टर्स एशोसिएसनले पनि धादिङ्ग र महोत्तरीमा मातृशिशु केन्द्र निर्माण गर्न लागेको सुनाए ।

एशोसिएसन अध्यक्ष प्रसुना कंडेलले कार्यक्रमका सहभागी तथा सहयोगीहरुप्रति आभार प्रकट गरिन । संस्थालाई आजको स्थानमा ल्याइपुर्याउन योगदान गर्ने अग्रज तथा सहकर्मीप्रति उनले सम्मान व्यक्त गरिन ।

समारोहमा संस्थाको १० वर्षे यात्राका क्रममा महत्वपुर्ण योगदान पुर्याएकाहरुलाई कदरपत्रसहित सम्मान गरियो । संस्थापक अध्यक्ष अजिता सिंखडा, पूर्व अध्यक्षत्रय शान्ता संग्रौला, बासु लामिछाने र सुशिला कार्की, टुका स्याण्डवेल क्षेत्री, मन सुनुवार, र राजेन्द्र क्षेत्री सम्मानित भएका थिए ।

कार्यक्रममा जुम्लाको मातृशिशु केन्द्रका लागि सहयोग जुटाउनका लागि चित्रकला, नेपाली क्रिकेट जर्सी लगायतको सामग्रीको अक्सन गरिएको थियो भने विभिन्न पुरस्कार सहितको राफल ड्र पनि गराइएको थियो ।

त्यसक्रममा साहित्यकार खगेन्द्र नेपालीले आफुले बसुन्धरा मानश्री पुरस्कार बापत प्राप्त गरेको ३ सय पाउण्ड पनि सहयोगस्वरुप प्रदान गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणका मुख्य आकर्षण नेपालका चर्चित व्यंगकवि शैलेन्द्र सिंखडा थिए । देशको समसामयिक राजनीति र सामाजिक विकृतिहरुप्रति सिंखडाको व्यंगात्मक रोचक र घोचक प्रस्तुतिबाट कार्यक्रमका सहभागीहरुले भरपुर मनोरञ्जन प्राप्त गरे ।

त्यसअवसरमा गायिका शर्मिला बर्देवा र आशिष राजाले गीत प्रस्तुत गरेका थिए । काव्या दाहाल, दिव्या दाहाल, परिका आले, प्रतिष्ठा त्रिपाठी लगायतले नृत्य देखाएका थिए ।

रफी श्रेष्ठले बांसुरी वादन प्रस्तुत गरेकी थिइन् । सुस्मिता थापा र ग्रिष्मा भुषालले कार्यक्रमको सुरुमा आकर्षक मारुनी नाचबाट स्वागत गरेका थिए ।

त्यसअवसरमा बेलायतस्थित भारतीय नर्सहरुको तर्फबाट एलिजा म्याथ्यूले स्वार्गीय बलिउड अभिनेत्री श्रीदेवीमा समर्पित एक नृत्य प्रस्तुत गरेकी थिइन ।

कार्यक्रमको पहिलो औपचारिक सत्र उपाध्यक्ष विनोदविकास सिंखडा र सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन सुनिता गौतमले गरेका थिए ।