१५ चैत्र २०८०, बिहीबार
Follow Us

त्यो घरमा बल्ल छिर्दैछ पुलिस

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७५, शनिबार ०९:२०

पुनम चन्द, अधिवक्ता तथा महिला अधिकारकर्मी (कन्चनपुर)
सुरुका दिनदेखि नै यो घटनालाई मैले नजिकबाट नियालेकी छु । साउन १० गते कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. २ बस्ने १३ वर्षीय निर्मला पन्त साथीको घरमा होमवर्क गर्न ११ बजे घरबाट निस्केपछि ऊ पुनः घर फर्किनन् । उनी त्यही घरबाट हराएकी हुन् । हराएपछि निर्मलाकी आमाले त्यो घरमा गएर सोध्दा बबिता र रोशनी बम गैरजिम्मेवार तरिकाले प्रस्तुत भएपछि प्रहरीलाई समेत खबर गरियो ।

प्रहरीले यो घटनाबारे सुरुका दिनदेखि नै अनुसन्धान गर्ने चासो देखाएन । प्रहरीले पनि भोलि खोजतलास गराउला भन्यो । त्यहाँ प्रहरीको भूमिका कमजोर देखियो । भोलिपल्ट ९ बजेतिर लास भेटियो । लास भेटिएपछि त्यो क्षेत्रमा प्रहरीले सिल गर्नुपथ्र्यो, त्यो पनि गरेन । त्यहाँ मान्छेहरु हुर्रर्र गइसकेपछि घटनास्थलमा प्रमाण लोप भयो । अर्थात् सुरुदेखि नै प्रहरीले अनुसन्धान नगर्ने मनसाय देखायो ।

निर्मला हत्याकाण्डको भोलि पल्टदेखि नै त्यस क्षेत्रका स्थानीय समुदाय आन्दोलित थिए । हत्यारा पत्ता लगाउनुपर्छ, पीडितले न्याय पाउनुपर्छ भन्ने उनीहरुको माग हो । दोस्रो दिनदेखि नै आन्दोलन सुरु भएको थियो, आन्दोलन शान्तिपूर्ण नै थियो । २५ दिनसम्म दोषी पत्ता लाग्न सकेन । हत्यारा पत्ता लगाउन प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सिआईबीको टोली कन्चपुर आयो । उक्त टोलीले घटनाको अनुसन्धान ग-यो । प्रहरीको अनुसन्धानप्रति स्थानीय समुदाय विश्वस्त हुन सकेनन् ।

सुरुका दिनदेखि प्रहरीले घटनाको अनुसन्धान गर्ने सक्रियता देखाउनुपथ्र्यो, त्यो नदेखिएकै कारणले प्रहरीको काम कारबाहीप्रति जनताको विश्वास रहेन । किनभने जुन घरमा निर्मल पढ्नका लागि भनेर आएकी थिइन्, त्यो घरको प्रहरीले कुनै अनुसन्धान गरेको देखिँदैन । त्यो घरमा दुईजना दिदीबहिनी बस्नुहुन्थ्यो, बबिता र रोशनी बम । उहाँहरुप्रति कुनै अनुसन्धान हिजो शुक्रबारसम्म गरिएको थिएन । बल्ल शनिबार उनीहरुलाई पक्राउ गरी हिरासतमा लिइएको छ । पुलिस प्रशासनले यस्तो हर्कत देखाएपछि स्थानीय समुदाय आन्दोलित हुनु स्वभाविक थियो ।

२५ दिनसम्म पनि दोषी पत्ता लाग्दैन । बीचबीचमा हामीले पनि नागरिक समाजको तर्फबाट ज्ञापन, ध्यानाषर्णपत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाएका थियौं । २६ औं दिनमा प्रहरीले दोषी व्यक्ति यही हो भनेर एउटा मानसिक रोगी, जो आफ्नो भिनाजुलाई हत्या गरेर ९ वर्ष जेलमा बसिसकेको थियो, गतवर्ष जेठमा असल आचरण भएकाले जेलबाट निस्केको व्यक्ति हुन् । जो अहिले मानसिक रुपमा डिस्अर्ड देखिनुहुन्छ । त्यो व्यक्तिलाई नाटकीय ढंगले प्रहरीले दोषी करार गरेर अदालतसमक्ष म्याद थपका लागि उपस्थित गराइयो । पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेपछि प्रहरीको बेइमानीप्रति कञ्चनपुरको आन्दोलनले नयाँ स्वरुप लिइयो ।

हामीले गहिराइमा नपुगी त्यो व्यक्तिलाई नक्कली दोषी बनाइएको भनेका होइनौं । शंकाको घेरामा रहेको ठाउँ, जहाँ अध्ययनका लागि निर्मला आएकी थिइन्, त्यो घरमा खान तलासी भएको छैन भन्ने आवाज उठाएका हौं । हिजोको मितिसम्म त्यो घरको अनुसन्धान सुरु भएको थिएन, त्यही बेलादेखि प्रहरी जनताको शंकाको घेराभित्र रह्यो । एउटा मानसिक रोगीलाई भाद्र ३ गते प्रहरीप्रहरीले अपराधी पक्राउ गरेको भनेको छ । तर उसलाई भाद्र १ गते नै घरबाट नियन्त्रणमा लिएको देखिन्छ । ४ दिनपछि उसलाई अदालतमा म्याद थपका लागि लगिएको छ ।

२५ दिनसम्म दोषी पक्राउ गर्न सकेका छैनौं भन्ने प्रहरीले २६ औं दिनका दिन मानसिक रोगीलाई एकाएक सार्वजनिक गर्छ । ऊ नै हत्यारा हो भनेर प्रहरीले उपस्थित गरायो । मानसिक रोगीलाई प्रहरीले सार्वजनिक गरिसकेको थिएन, पक्राउ परेको सुन्नमा आएको थियो । हामीले नागरिक समाजको तर्फबाट सीआईबीको टोलीसँग पनि भेट ग-यौं । सीआईबीको टोलीले पनि उसैले बलात्कारपछि हत्यार गरेको हो भन्यो ।

पक्रेर ल्याउँदा पनि प्रहरीले नाटक नै देखायो । घरबाट पक्रेर ल्यायो, डे«स चेन्ज गर्नुपर्छ भनेर डे«स लिन प्रहरीलाई पठाइयो । डिल्लीसिंह विष्ट भन्ने व्यक्तिको दाइ खड्क विष्टले हाफपेन्ट र एउटा सर्ट पठाइदिए छन् । त्यो सर्टको खल्ती अलकति च्यातिएको थियो अरे । त्यही खल्ती च्यातेर घटनास्थलमा राखियो । बलात्कार गर्दा पक्का पनि यो सर्ट लगाएको हुनुपर्छ, ती बहिनीले प्रतिकार गर्दा खल्ती च्यातिएको हुनसक्छ भन्ने नाटकजस्तो प्रहरीले सार्वजनिक गरेको अभिव्यक्ति दियो ।

मृतकको बुवालाई त्यत्तिबेलासम्म घटनास्थलमा लगेको थिएन । प्रमाण फेला पार्नसक्छौं भनेर मृतकको बुवालाई २६ दिनपछि घटनास्थलमा लगियो । बुवा घटनास्थलमा पुग्नेवित्तिकै च्यात्तिएको खल्ती भेटियो । मृतकको योनीमा अरु प्रमाण नदेखिएपछि दोषीले कण्डम प्रयोग गरेको भनिएको थियो । कण्डमको कभर पनि त्यहाँ भेटियो । यति धेरै पानी परेको छ, खोलाको छेउमा छ । पानी परिरहेको खोलाको छेउमा भएको घटनास्थलमा कण्डमको खोल भेटिनु, सर्टको खल्ती भेटिनुलाई प्रहरीले प्रमाण मानेको छ । यी सबै प्रमाण प्रहरीले योजनाबद्ध ढंगले बनाएको हो भन्न एउटा अधिवक्ताको नाताले मैले हिचकिचाउनु पर्दैन ।

दोषी भनिएका विष्टले मलाई ४ दिन पहिला ल्याएको हो, मलाई विभिन्न किसिमले यातना दिइयो, टाउको तल, खुट्टा माथि गरेर नाकमा पानी हाल्यो, अथवा कुटपिट ग-यो, त्यही भएर मैले अपराध स्वीकार गरेको हुँ, मैले त्यो केटीलाई चिनेको छैन, मैले त्यस्तो कुनै क्रियाकलाप गरेको छैन भनेर अदालत समक्ष भनेका छन् । । यद्यपि उसको बयान भइसकेको छैन, तर म्याद थपका लागि अदालत जाँदा न्यायाधीशले सोध्दा विष्टले त्यस्तो जवाफ दिएका थिए ।

मानसिक रुपमा डिसअडर भएका ती व्यक्ति यो घटनामा संलग्न छैन भन्ने कुरा मासलाई राम्रोसँग थाहा छ । किनभने उसले यस्तो घटना घटाउनै सक्दैन । ऊ शारीरिक रुपमा कमजोर छ । घटना उखुबारीमा भएको भनिएको छ, तर प्रहरीले सुरुका दिनमा यो एकजनाको हातको कुरा होइन, घटनामा ३–४ जना संलग्न हुनुपर्छ । कुनै ठाउँमा यो घटना घटाएपछि राति ल्याएर फालिएको हुनुपर्छ भन्ने कुरा एपीले त्यही बेला गरेका थिए । अहिले आएर यो घटना त्यही ठाउँमा भएको हो भनिरहेका छन् । उखुबारीमा घुँडासम्म पानी छ, हिलो छ, घटना हुनसक्ने अवस्था छैन । रेप गर्नेले कहिले पनि कण्डप युज गर्दैन ।

सर्वसाधारणले आशंका गरेको घरमा बल्ल प्रहरी प्रवेश गरेको छ । बबिता र रोशनी बमलाई प्रहरीले हिरासतमा लिएको छ । अब घटनाले कुन मोड लिन्छ त्यो हेर्न बाँकी छ ।
अधिवक्ता चन्दसँग कुराकानीमा आधारित