६ बैशाख २०८१, बिहीबार
Follow Us

पुस्तकमा विश्वयुद्ध लडेका बृटिश गोर्खा गाथा समेटिने

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७५, आईतवार १४:२९

काठमाडौं । दोस्रो विश्वयुद्ध लडेका बृटिश गोर्खाका साहसिक कथाहरु पुस्तकमा समेटिने भएको छ । तीन वर्षको निरन्तर अनुसन्धानपश्चात् सन् २०१९ को अन्त्यतिर प्रकाशन हुने सो कृतिले बृटिश साम्राज्य, बृटिश गोर्खा र सैन्यविज्ञानबारे रुचि राख्ने संसारका सबै पाठकहरुलाई समेट्नेछ । पुस्तकका निम्ति बर्मा, वेलायत, मलेशिया, सिंगापुर, र हङकङको अनुसन्धान यात्रा पछिनेपाल आएका लेखक टीम आई.गुरुङले आज आयोजित एक कार्यक्रममा सो जानकारी गराए ।

विश्वयुद्धलगायत परदेशी भूमिमा लडेका बृटिश गोर्खा,सैन्य विज्ञ, समाजशास्त्री तथा अन्य विद्वानहरुसँग संवाद र साक्षत्कारका निम्ति लेखक ३० दिने भ्रमणका लागि नेपाल आएका हुन् । यस अवधिमा लेखकले पूर्व पशुपतिनगरदेखि पश्चिम कञ्चनपुरसम्म भ्रमण गर्नेछन्। “बृटिश गोर्खाबारे धेरै पुस्तकहरु लेखिएका छन् । यस विधामा स्वदेशी र विदेशी विद्वानले कलम चलाएका पनि छन् । तर, मैले एक पूर्ण दस्तावेजको खडेरी महसूस गरेँ ।” संचारकर्मीहरुसँग संवादका क्रममा हङकङलाई कर्मथलो बनाएका लेखक गुरुङले भने ।

एशिया टाइम्सका निम्ति समेत लेखरचना लेख्ने गुरुङको गुनासो छः “विदेशी विद्वानहरु बृटिश गोर्खाबारे पश्चिमा चश्मा लगाएर लेख्छन् । स्वदेशीहरु अलिक राजनीति र नेपाली भूगोलभित्र मात्र सीमित भइदिन्छन् । त्यसैगरी लेखनीमा सैन्यकौशल र विज्ञानका पाटाहरु समेटिएका पनि छैनन् ।” त्यसैले बृटिश गोर्खाबारे एक पूर्ण पुस्तकको आवश्यकता रहेको लेखकको ठम्याइँ छ ।

मूल दुई भाग रहने सो पुस्तकमा तीस अध्याय रहनेछन् भने प्रकाशन पूर्व मस्यौदा पुस्तकलाई ख्यातिप्राप्त १२ जना स्वतन्त्र विद्वानहरुले समीक्षा गर्नेछन् ।