१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कान्तिपुर व्यावसायिक पत्रकारिता पुरस्कार मैनाली र पकवानलाई

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७५, आईतवार १४:४३

काठमाडौं । कान्तिपुर सिटी कलेजले हरेक दुई वर्षमा प्रदान गर्दै आएको कान्तिपुर व्यावसायिक पत्रकारिता पुरस्कार यसवर्ष बरिष्ठ पत्रकार मोहन मैनाली र झापाको वरुण साप्ताहिकका सम्पादक माया पकवानलाई प्रदान गरिएको छ ।

रु २५ हजार नगद र कदरपत्रसहितको सो पुरस्कार आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिना, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, क्याम्पसका अध्यक्ष सुमन कटवाल र प्राध्यापक रामकृष्ण रेग्मीले संयुक्तरुपमा प्रदान गर्नुभएको थियो ।

त्यसैगरी सो कार्यक्रममा ‘केसिसी मिडिया जर्नल’ दोस्रो अङ्कको पनि विमोचन गरिएको थियो । अनुसन्धानमूलक उक्त जर्नलमा नौ वटा अनुसन्धनात्मक लेख समावेश छन् ।

उक्त जर्नलको टिप्पणी गर्दै वरिष्ठ पत्रकार धु्रवहरि अधिकारी र नागरिक दैनिकका सम्पादक गुणराज लुईंटेलले विश्वविद्यालयमा दिइने सञ्चार शिक्षालाई समाचार कक्षसम्म जोड्न र नेपालमा सञ्चार अनुसन्धानका लागि सघाउन उक्त जर्नल महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

सो कार्यक्रममा सूचना आयुक्त तिम्सिनाले नेपालमा सूचनाको हकसम्बन्धी ऐनको सफल कार्यान्वयनमा लाग्न सो कलेजका आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी र शिक्षकहरुसँग आग्रह गर्दै खुला र पारदर्शी समाजको निर्माण अहिलेको आवश्यकता हो भन्नुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा।अर्यालले नेपालको पत्रकारिता क्षेत्र र पत्रकारिता शिक्षामा सो क्याम्पसको भूमिकाको चर्चा गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्यले वर्तमान सरकारले ल्याउन लागेको गोपनीयताको हकसम्बन्धी कानुनबाट प्रेस स्वतन्त्रता र नेपाली नागरिकको सूचना माग्ने नैसर्गिक अधिकारको हनन् नहोस् भनेर महासङ्घ अत्यन्त सचेत र सजग रहेको बताउनुभयो ।

प्राध्यापक रेग्मीले पत्रकारिताको अध्ययन र अध्यापनमा लागिरहेको अहिलेको पुस्ताले आगामी दिनमा नेपाली पत्रकारिताको बृहत्तर विकासका लागि लाग्नुपर्ने धारणा राख्नुुभयो ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष कटवाल, प्रवन्ध निर्देशक प्रल्हाद कार्की, क्याम्पसका प्राचार्र्य राजु कटुवालले पत्रकारिता शिक्षाको स्तरवृद्धिका लागि सो क्याम्पसले गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभयो ।