१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्थिक वर्ष २०७३/०७४ मा ६ सय ५५ बालिका बलात्कृत

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७५, आईतवार १५:२८

काठमाडौं । किशोरीमाथिको बलात्कारको बढ्दो घटनाले दिनानुदिन नेपाली समाजलाई विवेकहिन बनाउँदै लगेको छ । प्रत्येक दिन कलिला किशोरीहरु बलात्कृत हुने क्रम बढ्दा यतिबेला प्रत्येक छोरीका अभिभावकमा त्रासको वातावरण छाएको छ । बलात्कारको घटनामा भरपर्दो अनुसन्धान, सजाय र सामाजिक उपचार नहुँदा यो जघन्य अपराधले समाजमा टाउको उठाउदै गएको सरोकारवालाहरुको निष्कर्ष छ ।

सडकदेखि सदनसम्म बलात्कारका घटना र कानुन संसोधन बारे बहस चर्किरहेकै बखत पनि राजधानीको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कारका घटनामा दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग एकातिर गुन्जिरहेको बखत पनि बालिकाहरु बलात्कृत हुनेक्रम रोकिएको छैन । पाँच वर्षमा ५, हजार ५ सय ९६ बलात्कारका घटना भएका छन् । आर्थिक बर्ष २०७३/७४ मा मात्र ६ सय ५५ जना बालिका बलात्कृत भएका छन् ।

गत साउन १० गते साथीको घरमा पढ्न गएकी कंचनपुर की १३ बर्षीया निर्मला पन्तको बलात्कार पछि भएको विभत्स हत्याको घटनाले पनि यतिबेला सिंगो देश स्तब्ध र आन्दोलित छ । बलात्कारको घटनामा प्रहरी नै ढाकछोपमा लाग्नु लज्जास्पद भएको भन्दै बलात्कारको घटनामा कडा कानुनी ब्यबस्था ल्याउनु पर्ने पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बताउनुहुन्छ ।

निर्मला पन्त घटना प्रकरणले समाजमा महिला सुरक्षा माथि नै चुनौती थपेको छ भने यस्ता जघन्य अपराधमा प्रहरीको अनुसन्धान प्रति पनि बिश्वास टुटेको छ । पुरुषप्रदान समाजको सुरुवातदेखि महिलामाथि दमन र महिलाको शरीरमा पुरुषको अधिकार जमाउने प्रवित्तिले बलात्कार बढेको भन्दै बलात्कारको कारण महिला माथि हेपाह पुरुष प्रबित्ति भएको मानसिक रोग बिशेषज्ञ डा अरुणराज कुँवर बताउनुहुन्छ ।

यो अपराध निमिट्यान्न पार्न नसकिएला तर उल्लेख्यरुपमा नियन्त्रण गर्न भने सकिन्छ । यस्का लागि दण्ड सजायको व्यवस्थासंगै सचेतना आवश्यक छ । सामाजिक विकृति भएकोले समाजबाट नै यस्को समाधान खोज्न जरुरी छ । जस्का लागि सरकारदेखि उस्का हरेक निकाय यसप्रति जिम्मेवार बन्न आवश्यक छ ।